रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ

दमक,२२ जेठ। दमक -१० स्थित रतुवा खोला किनारमा मृत भेटिएकी रोमा भनिने रमा तिवारीको हत्यामा संलग्न आरोपमा प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले शुक्रवार पत्रकार सम्मेलन गरि दमक -८ वसन्त टोल बस्दै आएका नारायण तिवारीकी  २१ बर्षिया छोरी रमा तिवारीको हत्यामा संलग्न भएको आरोपमा भारतको बिहार घर भई हाल दमक- ५ बस्दै आएका ३४ वर्षीय राकेश कुमार पण्डित छन् । कोशी प्रदेश प्रहरी कार्यालयको सहयोगमा दमकका डीएसपी हरि बहादुर बस्नेत नेतृत्वका टोलीले जेठ २१ मा उनलाई पक्राउ गरेको हो ।

स्थानीय रतुवा खोलामा जेठ १६ मा रमाको शव भेटिएको थियो । टायल्स मिस्त्रीको रूपमा कार्यरत पण्डितले जेठ १३ मा साँझ रमाका हत्या गरेर खोलामा फालेको झापाकी एसपी बसुन्धरा खड्काले जानकारी दिइन् ।मृतकको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि परिवारले बुझेर दाहसंस्कार गरेका छन् ।

हत्यापछि आरोपी जेठ १६ मा भारत गएका थिए । मृतकको ‘प्रेमी पक्राउ’ शीर्षकको समाचार पढेपछि उनी आफू पक्राउ नपर्ने ढुक्क भएर नेपाल फर्केका थिए । नेपाल आएको प्राविधिक विश्लेषणको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।  रमा १३ जेठ गते हराएकी थिइन् । बाटोमा भेटेका पण्डितले रमालाई मूल सडकबाट भित्र बाँसघारीमा लगेर हत्या गरेको थाहा भएको छ ।

रमासँग पैसाको विवाद भएपछि झगडा हुँदा हत्या गरेको आरोपीले स्वीकार गरेको एसपी खड्काले बताइन् । विवाद भएपछि रमाले ‘थ्रेट’ गरेको र सो कुरा बाहिर आउने डरले उनले घाँटी थिचेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि बोरा ल्याएका उनले सँगै टायलको काम गर्दा लेभल मिलाउने पाइप पनि ल्याएर घाँटीमा सो पाइपले कसेका थिए ।
हत्या गरेपछि आत्मग्लानी गर्दै उनले दमकस्थित पशुपति मन्दिरमा गएर आफूले पाप गरेको भन्दै माफी मागेका थिए । त्यसपछि उनी भारत भागेका हुन् । घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Leave a Reply

Your email address will not be published.