दमक,१० कार्तिक । दमकमा यही कार्तिक १८ गतेदेखि मंसिर २ गतेसम्म आदिवासी जनजाति महोत्सव लाग्ने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) दमक नगर समन्वय परिषदको आयोजनामा हुने महोत्सवको तयारी धमाधम भइरहेको अध्यक्ष अमर बहादुर कुमालले जानकारी दिए ।
दमक ७ स्थित सयपत्री टोलमा लाग्ने महोत्सवमा स्थानीय जातजातिको कला संस्कृति, भेषभुषा, मौलिक खानपानका स्टलहरु रहने छन् । त्यस्तै, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको उपस्थितिमा दैनिक संगीतमय मनोरञ्जन कार्यक्रम हुनेछ । साथैं, महोत्सवमा स्थानीय कृषि उत्पादित सामाग्रीहरुदेखि मनोरञ्जनका लागि विभिन्न खेल,तमासाहरु सञ्चालन हुने अध्यक्ष कुमाल बताउँछन् ।
महासंघले आफ्नो कोष स्थापना गर्ने उद्देश्यका साथ दमकमा यस किसिमको महोत्सव लगाउँदै आएको छ । महासंघमा राई ,लिम्बू, याखा, तामाङ, गुरुङ ,मगर, राजवंशी , ताजपुरिया ,धिमाल , सन्थाल लगायतका जातिहरू आबद्ध छन्। तीमध्ये राई , लिम्बू जातिको निकै ठूलो बसोबास छ ।
यसैवीच, महोत्सव भव्यताका साथ सफल बनाउन महासङ्घले विभिन्न उपसमितिहरू गठन गरी काम अगाडि बढाएको छ ।