दमकमा पाँचतारे होटल शिवानी होलिडेज इन एन्ड सुइट्स सञ्चालनको तयारीमा

दमक,१० कार्तिक । झापाको दमकमा पर्यटन, आतिथ्य सेवा, मनोरञ्जन र व्यावसायिक गतिविधिलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित शिवानी होलिडेज इन एन्ड सुइट्स सञ्चालनको तयारीमा जुटेको छ । दमक–९, जेसीज मार्गमा निर्माणाधिन यस पाँचतारे होटलले आधुनिक आतिथ्य सेवासहित नाइट क्लब र मनोरञ्जनका सुविधा उपलब्ध गराउने तयारीका साथ परियोजना निर्माण कार्य धमाधम भइरहेको हो ।
शिवानी होटलका सञ्चालक शिव शाहले यस परियोजनाको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको छिट्टै सञ्चालनका लागि आवश्यक तयारी थालिएको जानकारी दिए ।
दमकको पर्यटन प्रवर्धद्धनमा यस किसिमको होटल अति आवश्यक भइरहेकाले भन्दै उनले अब यो परियोजना सञ्चालनमा आएपछि यहाँ कुनै पनि सभा–सम्मेलन, पारिवारिक कार्यक्रम, पर्यटकीय बसाइ तथा मनोरञ्जनका लागि आउने सेवाग्राहीहरुलाई सुविधा पुग्ने दाबी गरे ।
उनले भने–,‘हामी होटलले उपलब्ध गराउने सेवाको गुणस्तर, व्यवस्थापन क्षमता र बजारसँगको सम्बन्धले यसको व्यावसायिक सफलता निर्धारण गर्ने हुदाँ त्यसप्रति अत्यन्त सजग छौ।’
होटल व्यवस्थापन तथा सेवा सञ्चालनको तयारीका बारेमा आवश्यक कामदारको माग भर्ना प्रक्रिया अघि बढाइएको छ ।
रोजगारीका नयाँ अवसर
शिवानी होलिडेज इन एन्ड सुइट्सले होटल सञ्चालनका लागि विभिन्न तहका कर्मचारी माग गरेको छ । होटलद्वारा सार्वजनिक गरिएको विज्ञापनअनुसार व्यवस्थापन, फ्रन्ट अफिस, खाद्य तथा पेय सेवा, भान्सा, हाउसकिपिङ, नाइट क्लब, मनोरञ्जन र सहयोगी सेवाअन्तर्गत कर्मचारी आवश्यक परेको छ ।
होटलले महाप्रबन्धक, सञ्चालन व्यवस्थापक, फ्रन्ट अफिस व्यवस्थापक, खाद्य तथा पेय व्यवस्थापक, कार्यकारी सेफ, मानव संसाधन व्यवस्थापक, वित्त व्यवस्थापक, बिक्री तथा बजार व्यवस्थापक र इन्जिनियरिङ तथा मर्मतसम्भार व्यवस्थापकजस्ता पदमा कर्मचारी खोजेको जनाएको छ ।
त्यसैगरी वेटर, वेट्रेस, बारटेन्डर, होस्टेस, रिसेप्सन, अतिथि सत्कार, रुम एटेन्डेन्ट, लन्ड्री सुपरभाइजर, सुरक्षा कर्मचारी, डीजे तथा मनोरञ्जनसम्बन्धी कर्मचारीसमेत आवश्यक रहेको विज्ञापनमा उल्लेख छ ।
यसले होटल तथा पर्यटन क्षेत्रमा सीप भएका जनशक्तिका लागि अवसर सिर्जना गर्न सक्ने देखिन्छ। विशेषगरी होटल व्यवस्थापन, पाककला, अतिथि सत्कार र सेवा क्षेत्रमा तालिम लिएका स्थानीय युवालाई रोजगारीसँग जोड्न सके त्यसको लाभ दमकसहित आसपासका क्षेत्रले प्राप्त गर्न सक्छन्।
होटलले कर्मचारी छनोटका लागि इच्छुक तथा योग्य उम्मेदवारलाई आफूले आवेदन दिन चाहेको पद स्पष्ट उल्लेख गरी अद्यावधिक व्यक्तिगत विवरण (सीभी) पठाउन आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published.