दुधे ,९ कार्तिक । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा यहि मंसीर ५देखि १२ गतेसम्म दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक झापा महिला गोल्डकपले आइतबार खेलमैदानमा पत्रकार सम्मेलन गरी प्रतियोगिता तयारीका बारेमा जानकारी दिएको हो । आयोजक समितिका अध्यक्ष सन्तोष थापाका अनुसार प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका तीन विभागीय टोलीसहित आठ टोली सहभागी हुनेछन् ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाली सेना र सशस्त्र प्रहरी बलका टोलीसँगै भारत, भुटान र अर्को एक विदेशी टोली, एक ए डिभिजन क्लब तथा आयोजक टोली सहभागी हुनेछन् । आयोजकले कोशी प्रदेशका महिला खेलाडी छनोट गरी आफ्नै टोली तयार पार्ने जनाएको छ ।
प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँ पाउनेछन् ।
उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष थापाले जानकारी दिए । प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई पनि १५ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।
प्रतियोगिता सञ्चालनका लागि एक करोड २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितालाई लक्षित गरी दूधे रङ्गशालाको स्तरोन्नति भइरहेको छ भने दर्शकका लागि बाँसको अस्थायी प्यारापिट निर्माण गरिने आयोजकले जनाएको छ ।