झापा,९ कार्तिक । दशै अवधिमा कोशी प्रदेशका विभिन्न सडक दुर्घटनामा परेर २२ जनाको ज्यान गएको छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म प्रदेशका १४ जिल्लामा ४१३ वटा सवारी दुर्घटना हुँदा ७४६ जना घाइते भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार दुर्घटनामा १७ पुरुष र पाँच महिलाको मृत्यु भएको हो । मृतकमध्ये एक जना सवारी चालक र दुई जना बालिका छन् । दुर्घटनामा घाइते भएकामध्ये ३६ जनाको अवस्था गम्भीर छ । उनीहरूमा ३१ पुरुष र पाँच महिला छन् । बाँकी ७१० जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा ७१ जना सवारी चालकसमेत छन् । चालक सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा तीनवटा चौपायासमेत मरेका छन् ।
कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक विकाश थपलियाका अनुसार दसैँ अवधिमा दुर्घटनाको संख्या मोरङमा सबैभन्दा बढी छ भने मानवीय क्षति सुनसरीमा धेरै भएको छ । मोरङमा १७० वटा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ती दुर्घटनामा २९१ जना घाइते भएका छन् । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ । दुर्घटनाको संख्या र घाइतेको विवरणका आधारमा मोरङ प्रदेशकै सबैभन्दा बढी प्रभावित जिल्ला बनेको छ ।
सुनसरीमा भने दुर्घटनाको संख्या मोरङको भन्दा कम भए पनि ज्यान गुमाउनेको संख्या बढी छ । जिल्लामा ८७ वटा दुर्घटना हुँदा आठ पुरुष र दुई महिलासहित १० जनाको मृत्यु भएको प्रहरी निरीक्षक थपलियाले बताए । मृत्यु हुनेमा सवारी चालकसमेत छन् । दुर्घटनामा १५६ जना घाइते भएकामध्ये १४ जनाको अवस्था गम्भीर छ ।
झापामा ८४ वटा दुर्घटना हुँदा दुई पुरुष र दुई महिलाको मृत्यु भएको छ । दुर्घटनामा १३९ जना घाइते भएका छन् । तीमध्ये पाँच जनाको अवस्था गम्भीर छ । उदयपुरमा ३३ वटा दुर्घटना हुँदा तीन पुरुष र एक महिलासहित चार जनाले ज्यान गुमाएका छन् । त्यहाँ ८९ जना घाइते भएका छन् ।
सुनसरी, मोरङ, झापा र उदयपुरमा भएका दुर्घटनामा मात्रै २२ जनाको मृत्यु भएको हो । प्रदेशका बाँकी १० जिल्लामा भने दसैँ अवधिमा भएका दुर्घटनामा कसैको ज्यान नगएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार इलाममा १० वटा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पाँचथरमा सात दुर्घटनामा १२ जना, खोटाङमा सात दुर्घटनामा नौ जना, ओखलढुंगामा पाँच दुर्घटनामा सात जना, संखुवासभामा चार दुर्घटनामा छ जना र ताप्लेजुङमा तीन दुर्घटनामा छ जना घाइते भएका छन् ।
धनकुटा, भोजपुर र सोलुखुम्बुमा एक–एक वटा दुर्घटना भएका छन् । यी तीन जिल्लाका दुर्घटनामा परेर १० जना घाइते भएका छन् । तेह्रथुममा भने दसैँको अवधिमा कुनै पनि सवारी दुर्घटना नभएको जानकारी प्रहरी निरीक्षक थपलियाले दिए ।
दुर्घटनासँगै दसैँको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ । नियम उल्लंघन गरेका दुई हजार ४५७ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ती सवारीसाधनलाई ट्राफिक नियम उल्लंघनको कसुरमा जरिबाना गर्दा २५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको थपलियाले बताए ।