विश्व वातावरण दिवसः दमक र कमलमा २ सय बढी बिरुवा रोपिए

दमक,२२ जेठ । २४औं विश्व वातावरण दिवसको अवसर पारेर झापाको दमक र कमल गाउँपालिका शुक्रवार वृहत वृक्षारोपण गरिएको छ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ झापा क्षेत्र नं. ५, दमक फुटबल एकेडेमी र दमक तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा वृक्षरोपण गरिएको हो।

कार्यक्रम अन्तर्गत दमकस्थित आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसर तथा कमल गाउँपालिका वडा नं. ५ मा रहेको साधुहोली सिमसार क्षेत्रमा हर्रो, बर्रो, सिरिस, जडुल लगायतका विभिन्न प्रजातिका २ सयभन्दा बढी बिरुवाहरू रोपिएका छन्। त्यहाँ प्रतिष्ठानकी प्रिन्सीपल सजना वैद्य ,प्रमुख प्रशासकीय अधिकृत सुमन नेपाल लगायतको उपस्थिति रहेको थियो ।
साधुहोली सिमसार क्षेत्रमा आयोजित विशेष वृक्षारोपण कार्यक्रम कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यता तथा भूतपूर्व सैनिक संघका क्षेत्रीय सभापति गोपाल निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो।

उक्त अवसरमा कमल गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष एलबी विष्ट, भूतपूर्व सैनिक संघका जिल्ला सल्लाहकार संयोजक भूपाल बस्नेत, दमक फुटबल एकेडेमीका अध्यक्ष गजु देवान लगायतको उपस्थिति रहेको थियो । दमक तेक्वान्दो डोजाङका अध्यक्ष जितु धिमालले स्वागत मन्तव्य राखेको औपचारिक उद्घाटन कार्यक्रममा वक्ताहरुले वातावरण संरक्षणका लागि सवै क्षेत्रबाट अभियान सञ्चालन गरिनु पर्ने औल्याएका थिए । उनीहरुले वृक्षरोपण गरिएका विरुवाहरुको संरक्षण गर्न स्थानीय समुदाय जागरुक हुनुपर्ने खाँचो रहेको उल्लेख गरे ।
कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधिहरु, टोल विकास संस्थाका प्रतिनिधिहरु, खेलाडीहरू, सञ्चारकर्मी तथा सर्वसाधारणहरूको समेत बाक्लो र उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन नेपाल भुतपूर्व सैनिक संघका क्षेत्रीय सचिव बलराम धिमालले गरेका थिए ।

वातावरण समितिद्धारा वृक्षरोपण
‘समृद्ध भविष्यको आधार जलवायु एवं प्राकृतिक मैत्री विकास’ भन्ने मूल नाराका साथ दमक -७ मा पनि वृक्षरोपण गरिएको छ । नगरपालिकाको वन वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक तथा दमक ६ का वडाअध्यक्ष टेक बहादुर थापाको अध्यक्षतामा दमक ७ स्थित आत्मज्ञान टोल क्षेत्रमा वृक्षरोपण गरिएको हो ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको वृक्षरोपण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, वार्ड नम्बर ७ का वडा अध्यक्ष भीमप्रसाद पौडेल ,कार्यपालिका सदस्य शेरबहादुर विश्वकर्मा ,७ नम्बर वार्डका जनप्रतिनिधि इन्दु खड्का लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरू,स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो । नगरपालिकाको वातावरण शाखा प्रमुख भुवन बरालले कार्यक्रमका विषयमा प्रकाश पारेको सो कार्यक्रमको सञ्चालन आत्मज्ञान टोल विकास संस्थाका अध्यक्ष केदारनाथ घिमिरेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.