दमक, ३१ साउन । आफनो जन्दिनको अवसर पारेर दमककी एक जना चिकित्सकले विद्यालयमा पुस्तकालय स्थापना गरिदिएकी छन् । दमक -६ निवासी दन्त रोग विशेषज्ञ डाक्टर सोफिया थुलुङले झापाको कमल–२ देवीचौनस्थित इन्द्र लोहनी स्मृति विद्यालयमा पुस्तकालय स्थापना गरिदिएकी हुन् ।
दमकस्थित थुलुङ डेन्टल क्लिनिककी सञ्चालिका समेत रहेकी उनले जन्मदिनलाई फरक शैली मात्र नभएर सेवाका हिसावले समेत उतिकै उपयोगी बनाउन पुस्तकालय स्थापना गरिएको बताईन् । पुस्तकालयको कमल गाउँपालिकाका अध्यक्ष हुुकुमसिंह राई र डाक्टर थुलुङले संयुक्त रुपमा उद्घाटन गरे ।
दिवंगत अग्रज पत्रकार इन्द्र लोहनीको स्मृतिमा स्थापना भएको सो विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि उपयोगी हुने पाठ्यपुस्तक तथा अन्य आवश्यक शैक्षिक सामाग्रीहरु उपलव्ध गराएकी दाता थुलुङले बताईन् ।
उनका अनुसार पुस्तकालयका लागि आवश्यक फर्निचरका सामाग्रीहरु, फुटबल दुई थान, भलिबल दुई थान, ब्याडमिन्टन एक थान, टेवल टेनिस, चेस बोर्ड दुई थान, लुडो दुई थान, क्यारामबोर्डसहित पाँचसय थान विभिन्न विषयका पुस्तकहरु विद्यालयलाई प्रदान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राई लगायतले कितावी पठनपाठनसँगै समग्र शैक्षिक सुधार गर्न तथा विद्यार्थीहरुको बौद्धिक विकास अभिबृद्धिमा टेवा पुग्ने बताएका थिए ।
कार्यक्रममा कमलनगर अस्पतालका प्रमुख दीपक दाहाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर कार्की, विद्यालय इन्चार्ज कमल कटुवाल, थुलुङ डेन्टल केयरकी डक्टर हाङमा माखिम लिम्बू, करुणा कार्की, धनमाया घिमिरे , शरद राजवंशी,पत्रकार अनिलदेव राई लगायतको उपस्थिति रहेको थियो।
विद्यालयका प्रधानाध्यापक हजेन्द्रबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षिका डिजा घिमिरेले स्वागत मन्तव्य राखेकी थिईन् भने सञ्चालन सहायक प्रधानाध्यापक भूमिका चापागाईंले गरेकी थिइन् ।
२०६५ सालमा स्थापना भएको सो विद्यालयमा हाल ७५ जना विद्यार्थी अध्ययनरत छन् ।