काँकडभिट्टा हुँदै भारततर्फ चिया निर्यात झन्डै दोब्बर

झापा ,२४ कार्तिक । पूर्वी नाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यात उल्लेख्य रूपमा बढेको छ । गत आर्थिक वर्षको असोजको तुलनामा चालु आर्थिक वर्षको सोही महिनामा चिया निर्यातको परिमाण झन्डै दोब्बर पुगेको हो ।
मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३-८४ को असोजमा ४९ करोड ५४ लाख ५२ हजार रुपैयाँ बराबरको १७ लाख १५ हजार ९३२ किलो चिया निर्यात भएको छ ।
गत आर्थिक वर्ष २०८२-८३ को असोजमा २४ करोड ७४ लाख ९ हजार रुपैयाँ बराबरको ९ लाख २ हजार ४४५ किलो चिया निर्यात भएको थियो ।
अघिल्लो वर्षको असोजको तुलनामा चिया निर्यातको परिमाण ९० प्रतिशतभन्दा बढीले बढेको छ भने निर्यात मूल्य करिब दोब्बर भएको छ ।काँकडभिट्टा नाकाबाट चियासँगै अलैँची र प्लाइउड पनि उल्लेख्य मात्रामा निर्यात भएका छन् ।
मेची भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोजमा ९८ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको अलैँची र ४४ करोड २३ लाख ४८ हजार रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको छ । इलाम, पाँचथर, ताप्लेजुङ र झापामा उत्पादित चिया काँकडभिट्टा नाका हुँदै मुख्यतः भारतीय बजारमा निर्यात हुने गरेको छ ।

 

Leave a Reply

Your email address will not be published.