रास्वपा कोशी सभापतिमा चन्द्र राई विजयी

मोरङ ,२८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा मोरङका चन्द्रबहादुर राई निर्वाचित भएका छन् । मोरङको विराटचोकमा सम्पन्न प्रथम प्रादेशिक अधिवेशनको निर्वाचन कार्यक्रममा आफ्ना तीन प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पछि पार्दै राई प्रदेश नेतृत्वमा चुनिएका हुन्।
निर्वाचन समितिको अन्तिम मतपरिणाम अनुसार, सभापति पदका लागि खसेको कुल ४९० मतमध्ये विजयी बनेका राईले २८० मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी गोमा तामाङ (सरिन)ले १४१ मत प्राप्त गरिन्। यस्तै, अन्य उम्मेदवारहरू खगेन्द्र कटुवालले ४१ मत र चन्द्र कुमार गौलीले २७ मत प्राप्त गरेका छन्। खसेको मतमध्ये १ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरि, प्रदेश सदस्यका लागि करिब १५६ जनाले उम्मेदवारी दिएका छन् । पहिलो चरणबाट ६१ सदस्य चयन भएपछि उनीहरूमध्येबाट बाँकी पदाधिकारीको निर्वाचन हुने व्यवस्था छ । यसअघि मोरङको विराटचोकस्थित जेसिज भवनमा जारी अधिवेशनमा नेतृत्व चयनलाई लिएर आन्तरिक विवाद भएको थियो ।

रास्वपा नेतृ तामाङद्वारा राजनीतिक संन्यासको घोषणा
रास्वपा कोसी प्रदेश सभाको सभापति पदमा निर्वाचन लडेकी गोमा तामाङ (शरिन) ले राजनीतिक संन्यास घोषणा गरेकी छन्। निर्वाचनमा पराजितपछि उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् राजनीतिबाट बिट मारेको घोषणा गरेकी हुन्।
उनी रास्वपा कोसीको निवर्तमान कार्यवाहक सभापति पनि हुन्। स्थापनाकाल देखिनै रास्वपामा आवद्ध तामाङले माथिको ह्विप भन्दै आफूलाई हराएको र सेटिङ प्यानल बनाउन नजानेको उल्लेख गरेकी छन्।
तामाङ रास्वपा उम्मेदवारका रूपमा सुनसरी १ बाट दुईपटक प्रतिनिधिसभा निर्वाचन लडिसकेकी नेतृ हुन् । यद्यपि निर्वाचित भने हुन सकिनन्।
गत फागुनमा भएको निर्वाचनमा ३५ हजार ७४१ मत ल्याएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई निर्वाचित हुँदा उनले २७ हजार २४९ मत पाएकी थिइन्।

Leave a Reply

Your email address will not be published.