काँकरभिट्टा खानेपानीको अध्यक्षमा लोकतान्त्रिकका बुढाथोकी निर्वाचित

मेचीनगर, २८ जेठ । यहाँस्थित काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा रोहित बुढाथोकी निर्वाचित भएका छन् ।आज बिहान सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार लोकतान्त्रिक साझा प्यानलका उम्मेदवार रोहित बुढाथोकी १९९१ मतसहित अध्यक्षमा विजयी भएका हुन् । उनले प्रगतिशील समाजवादी प्यानलका सन्तोष आचार्यलाई १८३ मतले हराएका हुन् । आचार्यले १८०८मत पाएका छन् । त्यस्तै अध्यक्षका अर्का प्रत्यासी सुदर्शन खड्काले ३४६ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा प्रगतिशील समाजवादी प्यानलका गोबिन्द गिरी २२६६ मतसहित निर्वाचित हुँदा उनका प्रत्यासी लोकतान्त्रिक साझा प्यानलका राजु दाहालले १२१९ मत पाएका छन् । जुन १०४३ मतान्तर हो । सोही पदका अर्का उम्मेदवार कृष्ण सुवेदीले ६३० मत ल्याएका छन् । त्यस्तै सचिव पदमा लोकतान्त्रिकका बिशाल तामाङ १७४५ मत ल्याई निर्वाचित भएका छन् । उनले ८२ मतान्तरले प्रगतिशील प्यानलका दिलिप सुब्बालाई हराएका हुन् । सचिवका अर्का प्रत्यासी नरेन्द्र सिवाकोटीले ५९८ मत पाएका छन् ।
त्यस्तै कोषाध्यक्षमा प्रगतिशील प्यानलकी बिमला तामाङ २०६५ मत ल्याई निर्वाचित हुँदा उनका प्रत्यासी लोकतान्त्रिक प्यानलकी बिमला देबकोटाले १४६३मत ल्याएकी छन् । जुन ६०२ मतको अन्तर हो । कोषाध्यक्ष पदकै अर्की उम्मेदवार सुधादेवी खड्काले ३९८ मत ल्याएकी छन् । जम्मा १२ वटा पदमध्ये लोकतान्त्रिक प्यानलले अध्यक्ष र सचिवसहित चारवटा पद जितेको छ भने प्रगतिशील प्यानलले उपाध्यक्ष र कोषाध्यक्षसहित आठवटा पद जितेको छ ।
यसैगरि ,लेखा समितिको संयोजकमा सोमराज ढकाल १५०८ (एमाले ),सदस्यमा बालकुमार भुजेल १६६०(जसपा ) र सदस्यमा जोश्ना राजवंशी १७९९(एमाले ) निर्वाचित भएका छन् । कुल मतदाता मध्ये ४९१८ खसेकोमा बदर ३१० मत भएको थियो ।
निर्वाचनमा कांग्रेस नेतृत्वमा लोकतान्त्रिक साझा प्यानल, एमालेको नेतृत्वमा प्रगतिशील समाजवादी प्यानल र राष्ट्रिय स्वतन्त्र पार्टीको स्वतन्त्र उम्मेद्वार समूह गरी तीनवटा प्यानल प्रतिस्पर्धामा रहेका थिए ।

Leave a Reply

Your email address will not be published.