इटहरी ,२२ कार्तिक । ट्रकको ठक्करबाट सुनसरीको इटहरी उपमहानगरपालिका मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको विराटनगर महानगरपालिका–९ का २७ वर्षीय इस्पस अर्याल र पछाडि सवार विराटनगर महानगरपालिका–२ तीनपैनीका २८ वर्षीय सास्वत पोखरेल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
प्रहरीका अनुसार इटहरी उमनपा–१३ गणेश पेट्रोलपम्प नजिक कोशी लोकमार्गमा शनिबार राति करिब ११ः५० बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२–०२५ प.३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाईते दुवै जनालाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पु¥याइएकोमा चिकित्सकले राति १२ः११ बजे मृत घोषणा गरेका थिए ।
प्रहरीले ट्रक चालक सुनसरीको रामधुनी नगरपालिका–५ का ३९ वर्षीय काशीराम चौधरीलाई आज विहान इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।
घाइते राजवंशीको उपचारका क्रममा मृत्यु
मोटरसाइकलको ठक्करबाट मोरङको कानेपोखरीमा गम्भीर घाइते भएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कानेपोखरी गाउँपालिका–२ का ६५ वर्षीय मधु राजवंशी छन् । गत कात्तिक १९ गते साँझ पैदल हिँडिरहेका बेला उनलाई कानेपोखरी–रंगेली सडकखण्डमा मोटरसाइकलले ठक्कर दिएको थियो । प्रदेश १–०१–०१९ प २७९७ नम्बरको मोटरसाइकलको ठक्करबाट राजवंशीको टाउको र कानमा गम्भीर चोट लागेको थियो । तत्काल उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पु¥याइएका उनलाई थप उपचारका लागि न्युरो अस्पताल लगिएको थियो ।