दमक,२२ कार्तिक । लामो समयदेखि अधुरो रहेको दमक– रबि चिसोपानी सडक समयमै काम सम्पन्न गर्न तथा त्यस सडकलाई फाल्गुनन्द मार्ग नामाकरण गर्न सरोकारवालाले माग दोहोरयाँएका छन् ।
आज दमकमा पत्रकार सम्मेलनको आयोजना गरि उनीहरुले निर्माणाधिन त्यस सडकको नामकरण राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द मार्ग गर्न सरकारसंग माग गरेका हुन् ।
पत्रकार सम्मेलनमा किराँत धर्मगुरूका निजी प्रवक्ता डिल्लीराम चाम्लिङले दमक– रबि सडक किराँत धर्म गुरु महिङगुम अङसीमाङ आत्मनन्द लिङदेनको पहल र सपनाको सडक योजना भएको बताउदैं यसको नामकरण महागुरु फाल्गुनन्दको नामबाट नै हुनुपर्ने जोड दिए ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले किराँत धर्मको कार्यक्रममा सहभागी हुँदा दमक चिसापानी सडकको नाम फाल्गुनन्द मार्ग घोषणा गरेको धर्म गुरूका प्रवक्ता डिल्लीराम चाम्लिङले स्मरण गराउँदै सो नामकरणलाई कायम राख्न आग्रह गरे ।
पत्रकार सम्मेलनमा किराँत धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्र सिंह थेगिमले बेलैमा सडक नबन्दा दर्जनौ नागरिकले ज्यान गुमाईसकेको बताउदै यस सडकलाई राजनीतिक जुहारी भन्दा माथि उठेर काम गर्नु पर्ने औल्याएका थिए । यस सडक महागुरुको नाममा नै कायम हुनुपर्ने उनको भनाई थियो ।
गत कात्तिक दोसो साता पूर्वाधार विकास मन्त्रालय सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय दमकले दमक चिसापानी सडक कालोपत्रका लागि एम.एस महालक्ष्मी जय धनाञ्जय जेभी काठमाडौको बोलपत्र स्वीकृत गरेको उल्लेखछ ।