बिर्तामोड युनाइटेडलाई दोस्रो पटक रारा गोल्डकपको उपाधि

धनकुटा, २३ बैशाख । झापाको बिर्तामोड युनाइटेड क्लबले १३औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
राजारानी खेलमैदानमा सम्पन्न फाइनल खेलमा आयोजक रारा फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोलअन्तरले पराजित गर्दै बिर्तामोडले लगातार दोस्रो पटक उपाधि उचालेको हो।
निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। खेलको दोस्रो हाफको ३३औँ मिनेटमा आयोजकका मनिकुमार लामाले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर अतिरिक्त समयको अन्त्यतिर बिर्तामोडका प्रशान्त लक्समले फ्रि–किकमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए।
पेनाल्टी सुटआउटमा बिर्तामोडका संजय लिम्बू, दिवस उराउ, प्रशान्त लक्सम, मौसम सुब्बा र विवेक पौडेलले गोल गरे। आयोजक राराका तर्फबाट किरण चेम्जोङ, मनिकुमार लामा, शिशिर लेखी र विशाल भण्डारीले मात्र गोल गर्न सके। दिपेश गुरुङको प्रहार भने बिर्तामोडका गोलकिपर अभिषेक बरालले रोकेपछि खेल बिर्तामोडको पक्षमा गएको हो।
फाइनल खेलको म्यान अफ द म्याच झापाका प्रशान्त लक्सम घोषित हुँदै नगद ७ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको उदयीमान खेलाडी आयोजक टिमका लोकेन्द्र चेम्जोङ घोषित भए। झापाका अभिषेक बराल उत्कृष्ट गोलकिपर, प्रतियोगिताभर ४ गोल गर्दै झापाका राजेश दाहाल सर्वाधिक गोलकर्ता बन्न सफल भए । उनीहरुले नगद ११ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।
त्यस्तै सर्वोकृष्ट खेलाडी राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर समेत रहेका आयोजक टिमका किरण चेम्जोङ घोषित हुँदै नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।
उपाधिसँगै बिर्तामोडले नगद ७ लाख रुपैयाँसहित ट्रफी हात पार्यो भने उपविजेता रारा फुटबल क्लबले नगद ३ लाख रुपैयाँमा चित्त बुझायो। जिल्लाकै सर्वाधिक नगद पुरस्कार राशी भएको प्रतियोगिता रारा फुटबल क्लबको आयोजनामा वैशाख १८ गतेदेखि सुरु भएको थियो। प्रतियोगितामा आयोजकसहित आठ टोलीको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published.