दमक,२३ बैंशाख । दमकका युवा व्यवसायी गोकुल श्रेष्ठ दोस्रो कार्यकालका लागि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन्।
दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं सल्लाहकारसमेत रहेका लोकप्रिय युवा व्यवसायी श्रेष्ठले उक्त पदका लागि खसेको १२९ मतमध्ये ९७ मत प्राप्त गर्दै विजयी भएका हुन्। जिल्ला तथा नगर तर्फबाट श्रेष्ठसहित झापा, विर्तामोडका राजु न्यौपाने पनि केन्द्रीय सदस्यमा निर्वाचित भए ।
लोकतान्त्रिक उद्योगी व्यवसायीहरूको समर्थन पाएका श्रेष्ठलाई दमक उद्योग वाणिज्य संघले आधिकारिक उम्मेदवारका रूपमा अघि सारेको थियो ।
उनको जितका लागि संघका अध्यक्ष गोपाल गुरागाईको एक टोली कोशी प्रदेशसहित देशभरका उद्योगी व्यवसायी हरु काठमाडौंमा केन्द्रित भई चुनावी अभियानमा सक्रिय रहेका थिए ।
महासंघको काठमाण्डौमा सम्पन्न ६० औ चुनावी बार्षिक साधारणसभाले नयाँ कार्यकारिणी समितिको ७३ पदका लागि १३७ जनाले उम्मेदवारी दिएका थिए ।
जिल्ला तथा नगरबाट निर्वाचित हुनेहरु
नयाँ कार्यसमितिको निर्वाचनबाट जिल्ला नगर खुलातर्फ दमकका गोकुल श्रेष्ठ,सहित विर्तामोडका राजु न्यौपाने, अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, छत्रधर आत्रेय, दासुराज पोखरेल, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मञ्जुकुमारी श्रेष्ठ कोजु, मोहनप्रसाद श्रेष्ठ, युवराज राजभण्डारी, लक्ष्मणराज पौडेल, लालीमान बुढा, विष्णुप्रसाद थपलिया, शङ्कर गिरी, शिवप्रसाद मानन्धर निर्वाचित भएका छन् ।
यस्तै, सन्तोष खड्का, सुदर्शन कार्की, हरिप्रसाद अर्याल विजयी भएका छन् । यस्तै, महासंघको द्विराष्ट्रिय सदस्यमा मनोज पौडेल विजयी भएका छन् । अन्य पदको भने मतगणना जारी छ । महासंघको निर्वाचनमा ७३ पदका लागि निर्वाचन हुँदैछ । जसमा एक सय ३७ उम्मेदवार छन् । महासंंघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् । बाँकी चार उपाध्यक्षसहित ७३ पदका लागि निर्वाचन हुनेछ । साधारणसभाबाट निर्वाचित कार्यसमितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्नेछ ।