कांग्रेसले सक्यो ६ हजार १ सय ३२ वडामा अधिवेशन

झापा, ४ असोज । नेपाली कांग्रेसले १५ औं महाधिवेशनअन्तर्गत देशभरिका ७३ जिल्लाका ६ हजार १ सय ३२ वडामा अधिवेशन सम्पन्न गरी कार्यसमिति गठन र क्षेत्रीय प्रतिनिधि चयन गरेको छ । शनिबार र आइतबार वडा अधिवेशन भएको थियो।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार दुई दिनमा ६ हजार १ सय ३२ वडामा कार्यसमिति चयन भएको छ भने विधानअनुसार क्षेत्रीय प्रतिनिधि पनि चयन भइसकेका छन्।

‘असोज ३ र ४ गते ७३ जिल्लाका ६ हजार १ सय ३२ वडामा अधिवेशन सकिएको छ। अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनुभएको छ,’ उनले भने।
ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ (क्षेत्र नं. ६ वाहेक), सुनसरी, सप्तरी (क्षेत्र नं. २ र ४ बाहेक), धनुषा, महोत्तरी, सर्लाही (क्षेत्र नं. २ बाहेक), रौतहट (क्षेत्र नं. १ बाहेक), बारा, पर्सा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, मकवानपुर जिल्लाका सवै पालिकाका वडाहरुमा अधिबेशन भएका छन् ।

यसैगरि, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ्ग, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, वागलुङ, नवलपुर, परासी (क्षेत्र नं. २ बाहेक), रूपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम (पूर्व), रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलाली जिल्लामा अधिवेशन भएको हो।
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्ला बाहेक सप्तरी क्षेत्र नं. २ र ४, सिराहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नम्बर २, परासी क्षेत्र नम्बर २ मा अधिवेशन हुन बाँकी छ।

शनिबार र आइतबार अधिवेशन हुन नसकेका ठाउँमा सोमबार अधिवेशन हुनेछ। ‘बाँकीमा वडा अधिवेशन असोज ५ गते सोमबार पनि निरन्तर जारी रहनेछ,’ उनले भने।
अधिकांश वडाहरूमा सर्वसम्मत रूपमा कार्यसमिति गठन गरिएको र क्षेत्रीय प्रतिनिधिहरू पनि सर्वसम्मत गरिएको नेताहरूले बताएका छन्।
कांग्रेसले वडा अधिवेशन सकेर विभिन्न तहगत अधिवेशन गर्दै असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा केन्द्रीय महाधिवेशन गर्दैछ ।
यो अधिवेशनमा वडाहरूमा पनि निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष सहभागी भएका छैनन्। देउवा पक्षले असोज १५ गते वडा अधिवेशन गर्ने तयारी गरेको छ ।

 

Leave a Reply

Your email address will not be published.