फरार कैदी दमकबाट पक्राउ

दमक,४ असोज । काठमाडौंको केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका एक कैदीलाई प्रहरीले दमकबाट पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय भोगिरहेका ताप्लेजुङका २७ वर्षीय राजकुमार लिम्बूलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो।
सिदिङवा गाउँपालिका–२ हुँसेसाँगुका लिम्बू दमक नगरपालिका–६ मा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा खटिएको टोलीले उनलाई साँझ करिब ७ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
लिम्बू २०८२ भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका थिए। कारागारबाट भागेपछि उनी झापामा लुकिछिपी बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०७९ असार २२ गते लिम्बूलाई जबर्जस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय सुनाएको थियो। अदालतले पीडितलाई १ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन तथा २ हजार २ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला पनि गरेको थियो।
पक्राउ परेका लिम्बूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.