हात्ती नियन्त्रण गर्न झापामा ‘स्पेसल टास्क फोर्स’

झापा ,४ असार । जंगली हात्तीबाट सर्वसाधारणको जिउधनको सुरक्षाका लागि जिल्लामा ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने भएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनमा ‘स्पेसल टास्क फोर्स’ गठनको प्रक्रिया अघि बढेको झापा निर्वाचन क्षेत्र नं १ की प्रतिनिधिसभा सदस्य निशा डाँगीले जानकारी दिइन् । ’प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायहरुलाई प्रक्रिया अघि बढाउन बुधबार भनिसकेको छ,’ उनले भनिन्, ’अब प्रमुख जिल्ला अधिकारीले स्पेसल टास्क फोर्स परिचालनका लागि आवश्यक समन्वय गर्नु हुनेछ ।’

गतसाता मेचीनगर नगरपालिका–४ मा ६२ वर्षीया पद्मा पौडेलको आफ्नै आँगनमा हात्तीको आक्रमणमा मृत्यु भएपछि स्थानीयले जिउधनको सुरक्षाका लागि सरकारले तत्काल समाधानमुखी कदम चाल्नुपर्ने माग राख्दै आएका छन् । सोही घटनापश्चात् सांसद डाँगी र राष्ट्रियसभा सदस्य रोशनी मेचेले जंगली हात्ती नियन्त्रण गरी नागरिकको जिउधनको सुरक्षाका लागि ठोस कदम चाल्न सरकारसँग माग गर्दै संसद्मा आवाज उठाएका थिए ।

‘स्पेसल टास्क फोर्स’मा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन रक्षकलाई सामेल गराइने र त्यसको परिचालन प्रमुख जिल्ला अधिकारी आफैँले गर्ने कार्ययोजना बनेको सांसद डाँगीले जानकारी दिइन् । फोर्सलाई हात्तीको प्रवेशगौडा मानिएको मेचीनगरको सीमावर्ती बाहुनडाँगी क्षेत्रमा खटाइने जनाइएको छ । सो क्षेत्रमा अन्तर्राष्ट्रिय सीमा पार गरेर भारतको आसाम र पश्चिम बंगालबाट ३० देखि १०० वटासम्म जंगली हात्तीको बथान एकैपटकमा नेपाल प्रवेश गर्दै आएको छ ।
वन्यजन्तु आरक्ष क्षेत्र नभएकाले हात्ती नियन्त्रणका लागि सिधै सुरक्षाकर्मी परिचालन गर्ने प्रक्रिया सहज छैन । सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सङ्घीय सरकार मातहत रहेका छन् भने सशस्त्र वन रक्षक प्रदेश सरकारको मातहतमा रहन्छन् ।

‘स्पेसल टास्क फोर्स’मा कति सुरक्षाकर्मी परिचालन हुने भन्ने यकिन भइसकेको छैन । सांसद डाँगीले ५० जना सुरक्षाकर्मी माग गरिएको बताइन् । ’हात्ती नियन्त्रणका लागि अनुभवी र तालिमप्राप्त सुरक्षाकर्मी परिचालन गर्नुपर्ने भएकाले सुरुमा कम्तीमा १० जनाको सङ्ख्यामा भए पनि ‘स्पेसल टास्क फोर्स’ परिचालन गर्दा हुने सुझाव आइरहेको छ,’ उनले भनिन् ।

मेचीनगरमा ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने खबरले स्थानीयवासी उत्साहित भएका छन् । मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुन कार्कीले सर्वसाधारणको जिउधनको सुरक्षाका लागि नेपाल सरकारले सुरक्षाकर्मी परिचालन गर्ने खबर स्वागतयोग्य रहेको बताए ।
तत्कालीन बाहुनडाँगी गाउँ विकास समितिका अध्यक्ष नीलकण्ठ तिवारी भारतीय क्षेत्रबाट हात्तीको बथान भित्रिन नदिने र स्थानीयवासीलाई ढुक्क महसुस गराउने ठोस कार्ययोजनासहित सरकार अघि बढ्नुपर्ने बताउँछन् ।

Leave a Reply

Your email address will not be published.