एन्फा केन्द्रीय सदस्य धिमालको निधन

उर्लाबारी,८ असोज । पेटको क्यान्सरको उपचार गरिआएका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय सदस्य दीपेन्द्र धिमालको निधन भएको छ । मोरङको उर्लाबारी निवासी ६१ बर्षिय धिमालको बिहीबार बिहान आफ्नै निवासमा निधन भएको हो ।
धिमाल केहीदिन अघिमात्र भारतको हैदराबादबाट उपचार गरी घरमा आराम गरिआएका थिए । पारिवारिक स्रोतका अनुसार उनी छैटो पटक किमोथेरापी गराएर घर फर्किएका थिए ।
मोरङ जिल्ला फुटबल सङ्घको निरन्तर तीन कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिआएका उनी पछिल्लो साधारण सभाबाट एन्फा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
४० को दशकमा मोरङ फुटबलबाट नेतृत्व गर्दै राष्ट्रिय खेलकुदमा प्रवेश गरेका धिमालले तत्कालिन जनकपुर चुरोट काराखाना लिमिटेडबाट ब्यावसायिक फुटबल खेलेका थिए । पछिल्लो समय राजनीतिसँगै खेल क्षेत्रमा सक्रिय धिमालको एक छोरा र छोरी रहेका छन् ।
छोरी अष्ट्रेलियामा रहेकोले धिमालको अन्त्येष्टि केही दिनपछि हुने परिवारका सदस्यले जानकारी दिए । धिमाल नेपाली फुटबलमा ड्राइभर दाईको नामबाट परिचित थिए । धिमालको निधनले मोरङ फुटबलले अभिभावक गुमाएको फुटबल सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकीले उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published.