झापामा एक लाख ९० हजार गाईभैँसीलाई खोरेतविरुद्ध खोप लगाइँदै

झापा,८ असोज । गाईभैँसीमा खोरेतको सङ्क्रमण बढेसँगै झापाका १५ वटै पालिकामा किसानले पालेका चौपायका गोठमै पुगेर खोरेतविरुद्धको खोप लगाउने अभियान सुरु गरिएको छ । मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा असोज १ गतेदेखि नै खोप लगाउन सुरु गरिएको हो। यी दुई पालिकाबाहेक जिल्लाका अन्य १३ वटा पालिकामा बिहीबारदेखि खोप लगाउन थालिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईका अनुसार खोप अभियानअन्तर्गत जिल्लाका एक लाख ९० हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ । उनका अनुसार कनकाई, कचनकबल, हल्दिबारी र मेचीनगरमा हालसम्म ६ हजार ८४८ गाईभैँसीलाई खोप लगाइसकिएको छ ।
खोप अभियानअन्तर्गत फार्म तथा गोठमै पुगेर खोप लगाउन १५ वटै पालिकामा १२१ जना दक्ष प्राविधिक परिचालन गरिएको छ ।
असोज १५ गतेसम्ममा जिल्लाका सबै १५ वटै पालिकाका ८० प्रतिशत गाईभैँसीलाई खोप लगाइसक्ने योजना रहेको भट्टराईले बताइन्।खोप अभियानका लागि कोशी प्रदेश सरकारबाट खोप तथा आवश्यक सामग्री पालिकाहरूलाई उपलब्ध गराइएको छ । यसअघि झापामा खोरेतविरुद्धको चौथो चरणको खोप अभियानसमेत सम्पन्न भइसकेको छ ।

 

Leave a Reply

Your email address will not be published.