गौरादह ,८ असोज । नेपाली कांग्रेस गौरादह नगर सभापतिमा प्रकाश कार्की निर्वाचित भएका छन् । गौरादहमा आज सम्पन्न १५औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न गौरादह नगर अधिवेशनबाट नगर सभापतिमा कार्की निर्वाचित भएका हुन्। नगर सभापति पदका लागि भएको निर्वाचनमा कार्कीले १७४ मत प्राप्त गर्दै विजयी भएका भए उनका प्रतिस्पर्धी इन्जिनियर भानु आचार्यले ९० मत प्राप्त गरे।
कुल २७२ मत खसेको निर्वाचनमा ८ मत बदर भएको थियो। कार्कीले आचार्यलाई ८४ मतको अन्तरले पछि पार्दै नगर सभापतिको जिम्मेवारी प्राप्त गरेका हुन्।
निर्वाचनअघि गौरादह नगर सभापति पदमा कार्की र आचार्यबीच प्रतिस्पर्धा हुने निश्चित भएको थियो। उम्मेदवारीका क्रममा आचार्यले पार्टी संगठनलाई थप गतिशील बनाउने, युवाको सहभागिता बढाउने तथा नयाँ सोचका साथ संगठनलाई अघि बढाउने विषयलाई प्राथमिकतामा राखेका थिए।
कन्काईमा प्रसाई सभापतिमा निर्वाचित
नेपाली कांग्रेसको कन्काई नगर सभापतिमा दुर्गाप्रसाद प्रसाई निर्वाचित भएका छन् ।नगर अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमति नभएपछि निर्वाचन भएको थियो । निर्वाचनमा १२६ मत ल्याई प्रसाई नगर सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी सन्तोषकुमार रायमाझीले १०१ मत ल्याएका छन् ।
त्यस्तै उपसभापतिमा ११६ मत ल्याउँदै केशवप्रसाद शर्मा निर्वाचित हुँदा उनका प्रतिष्पर्धी चन्द्र निरौलाले १११ मत पाएका छन् । महिला उपसभापतिमा १२३ मतसहित रेनुका उप्रेती विजयी हुँदा उनका प्रतिष्पर्धी टिकादेवी खरेल ९७ मतमा सीमित भएकी छन् ।
त्यस्तै सचिवमा दिपक खतिवडा १२० मत ल्याउँदै निर्वाचित भएका छन् भने सचिवकै उम्मेदवार हरिप्रसाद फुँयलले १०६ मत हासिल गरेका छन् । त्यस्तै सहसचिवमा भुवन खतिवडा १२५ मतसहित निर्वाचित हुँदा उनका प्रतिष्पर्धी मेघनाथ आचार्यले ९६ मत ल्याएका छन् ।
त्यस्तै सदस्यतर्फ भएको निर्वाचनमा ९६ मतसहित बसन्त थपलिया निर्वाचित हुँदा ६० मत पाएका सुवास भण्डारी पराजित भएका छन् ।
मिक्लाजुङ सभापतिमा गणेश वाजी लिम्बू
नेपाली काङ्ग्रेसको १५औं महाधिवेशनबाट पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका सभापतिमा गणेश वाजी लिम्बू सर्वसम्मत चयन भएका छन् ।