धनकुटा,२९ जेठ । सङ्खुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको यात्रुबाहक बस धनकुटा नगरपालिका–९ स्थित च्याङच्याङबारीमा दुर्घटना हुदाँ १२ जना घाईते भएका छन् । शुक्रबार दिउँसो को १ ख ७७८८ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुदाँ नाबालिकासहित १२ जना घाईते भएका छन् ।
घाइते हुनेमा सुनसरीको धरान–११ बस्ने २८ वर्षीया सबिता थापा, उनकी १६ वर्षीया छोरी आरुसी थापा, मोरङको सुन्दरहरैँचा नगरपालिका–११ बस्ने २६ वर्षीया अमृता तामाङ र उनकी ३ वर्षीया छोरी स्र्यान्सी तामाङ रहेका छन् ।
यसैगरी, सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ बस्ने ३४ वर्षीया अनिसा कटुवाल, ११ वर्षीया पवित्रा कटुवाल, धनकुटाको महालक्ष्मी नगरपालिका–६ बस्ने २५ वर्षीया संगीता राई, मोरङको कानेपोखरी गाउँपालिका–६ बस्ने ४७ वर्षीय चक्रबहादुर तामाङ, सङ्खुवासभाको धर्मदेवी नगरपालिका–३ बस्ने १५ वर्षीया सञ्जिला खत्री र सोही स्थानका बस सहचालक ३५ वर्षीय इन्द्रबहादुर तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए ।
प्रहरीका अनुसार घाइतेहरूलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।