कमलमा किशोरकिशोरी मैत्री स्वास्थ्य अभिमुखीकरण कार्यक्रम

दमक,२९ जेठ । झापाको कमल गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा किशोरकिशोरी मैत्री स्वास्थ्य अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।गाउँपालिकालाई किशोरकिशोरी मैत्री स्वास्थ्य गाउँपालिका स्थापना गर्ने उद्देश्यका साथ विभिन्न चरणमा स्वास्थ्य सचेतनामूलक कार्यक्रमहरू अघि बढाइएको हो।

यसै अभियान अन्तर्गत हालै कमल गाउँपालिका वडा नं. ६ स्थित लखनपुर स्वास्थ्य चौकीमा एक विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा किशोरकिशोरीहरूको शारीरिक तथा मानसिक विकास, प्रजनन स्वास्थ्य र यस उमेर समूहमा आउने विभिन्न स्वास्थ्य चुनौती तथा समाधानका उपायहरूका बारेमा जानकारी गराइएको थियो।

अभिमुखीकरणमा स्वास्थ्य चौंकीका अध्यक्ष समेत वडाध्यक्ष नरेन्द्र भट्टराई, वडा सदस्य गंगा राई,स्वास्थ्य चौंकी प्रमुख बिर्सजन मोक्तान, वडा सचिव सरिता श्रेष्ठ,वडा सदस्य टंकबहादुर खड्का,विद्यालय नर्स मुना अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

स्वास्थ्य शाखाकी सिनियर अनमी प्रतिक्षा साहका अनुसार, कार्यक्रम अन्तर्गत विद्यालयमा छात्राहरु लक्षित महिनावारी स्वास्थ्य, विद्यालय स्वास्थ्य कार्यक्रम गरिएको छ ।
गाउँपालिकाका सम्पूर्ण किशोरकिशोरीहरूलाई स्वास्थ्यप्रति सचेत र जिम्मेवार बनाउँदै पालिकालाई नै किशोरकिशोरी मैत्री बनाउन यो अभियान सुरु गरिएको र आगामी दिनहरूमा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिइने स्वास्थ्य शाखा प्रमुख दिपक दाहालले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.