दमक,१७ जेठ । किरात राई यायोक्खा झापाले मनाउदै आएको सांस्कृतिक चाड उभौली शनिवार जिल्लाको कमल गाउँपालिका -५ सितापुरीमा विशेष कार्यक्रम गरि मनाईएको छ ।
बैशाखे पूर्णिमादेखि शुरु भएको उभौली विशेष सांस्कृतिक कार्यक्रम जिल्लाका सवै स्थानीय तहमा धुमधामका साथ मनाउदै शनिवार विधिवत सम्पन्न भएको हो ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईको प्रमुख आतिथ्यतामा भएको साकेला सिली समापन कार्यक्रममा झापासहित मोरङ,सुनसरी,इलाम र छिमेकी भारतसम्मका साकेला राई टोली तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
ढोलझयाम्टा र आफै भेषभूषामा सजिएका साकेला नृत्य टोलीले आफनो साकेला नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा तीन दर्जन बढी साकेला टोलीले आफनो नृत्य प्रस्तुत गरेका यायोक्खा प्रदेश- १ का अध्यक्ष पारषमणि राईले बताए ।
साकेला सिली सांस्कृतिक विशेष कार्यक्रममा मनोरञ्जनका लागि विभिन्न खेल,तमासादेखि खानपीनका सय बढी स्टलहरु राखिएका थिए । यो ठाउँमा साकेला विशेष कार्यक्रम देशकै ठुलो भएको आयोजकको दावी छ ।
यायोक्खाले पालिका पिछे कार्यक्रम गरिआएको र शनिवार भने जिल्लास्तरिय भव्य कार्यक्रम गरि समापन गरिएको हो । त्यहाँ यायोक्खाले उभौली पर्वमा वर्षेनी समापन कार्यक्रम विशेष उल्लासका साथ मनाउदैं आएको पूर्व जिल्ला अध्यक्ष ईन्द्रमान चाम्लिङले बताए । साकेला सिली समापनमा मोरङ मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबीकुमार राई ,यायोक्खाका केन्द्रीय तथा झापाका नेतृत्वहरु लगायतको उपस्थिति रहेको थियो ।