पथरी शनिश्चरे, १७ जेठ । मोरङको पथरी शनिश्चरेस्थित कला साहित्य प्रवर्द्धन समिति पथरी शनिश्चरेले स्वर्गीय लेखक दिपेन्द्रराज तिम्सिनालाई मरणोपरान्त स्रष्टा सम्मान प्रदान गरेको छ।
शनिवार पथरीमा आयोजित सृजना विमर्श तथा स्रष्टा सम्मान कार्यक्रममा स्वर्गीय तिम्सिनाकी धर्मपत्नी लीला देवी निरौला ‘दुर्गा’लाई विशेष समारोहबीच उक्त सम्मान प्रदान गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्वापो र वरिष्ठ साहित्यकार मनु मञ्जिलले उनलाई दोसल्ला ओढाई २५ हजार रुपैयाँ नगद, स्वर्गीय तिम्सिनाको अर्धकद चित्र तथा सम्मानपत्र प्रदान गरेका थिए।
स्वर्गीय तिम्सिनाले पथरी शनिश्चरेलाई आफ्नो कर्मथलो बनाएर एक दर्जन बढी कृति प्रकाशित गर्दै साहित्य क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्याउदै आएका थिए ।
कला साहित्य प्रवर्द्धन समितिका अध्यक्ष धनराज राई ‘अमिर’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुमन बरालको परिकल्पना तथा जीवन बरालको निर्देशनमा तयार गरिएको “छोरी मान्छे भएर” शीर्षकको नाटक पनि मञ्चन गरिएको थियो। सामाजिक विकृति र कुरीतिविरुद्ध सचेतना फैलाउने उद्देश्यले तयार पारिएको उक्त नाटक १० दिने कार्यशालापछि आठौँ राष्ट्रिय महिला दिवसको अवसर पारेर प्रस्तुत गरिएको हो।
“संस्कारका नाममा दासी होइन, समानता देऊ” भन्ने मूल सन्देश बोकेको नाटक नगरभित्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले सहभागितामा जीवन्त अभिनय सहित प्रस्तुत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तुम्वापोले भाषा, कला र साहित्य मानव जीवनका अभिन्न अङ्ग भएकाले तिनको संरक्षण र प्रवर्द्धनका लागि नगरपालिका सदैव प्रतिबद्ध रहेको बताए ।
त्यसैगरी, साहित्यकार मनु मञ्जिलले साहित्य, कला, सङ्गीत र चित्रकलाजस्ता सिर्जनात्मक विधामा मानवीय करुणा र संवेदनशीलता झल्किनुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले कविता, गीत, गजल, गायन, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए। सो अवसरमा साहित्यकार धनकुटे कान्छा, बलिभद्र कोइराला, रोहित पराई, राजेश विवश र रेखा सुवेदीलगायतले आ(आफ्ना सिर्जनाहरू वाचन गरेका थिए ।