झापा,१५ जेठ । आगामी आर्थिक वर्षको लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएको छ ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा आज बजेट पेश गरेका हुन् ।
कूल बजेटमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ (५९.८ प्रतिशत), पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड (२०.३ प्रतिशत) र वित्तीय व्यवस्थापन तर्फ ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ (१९.९ प्रतिशत) विनियोजन गरेको छ । बजेट संशोधित चालु आर्थिक वर्षको बजेटको तुलनामा २५ प्रतिशतले बढी हो ।
राजस्व १४ खर्ब ४ अर्बको रहने अर्थमन्त्रीको अनुमान छ । यस्तै आम्दानीमा अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने उनले बताएका छन् ।
आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने छ ।
आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर
सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हाँसिल हुने अनुमान गरेको छ । शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.वाग्लेले सो विश्वास व्यक्त गरेका हुन् । उनले बजेट कार्यान्वयनका लागि सघाउ पुर्याउने गरी मौद्रिक नीति जारी हुने पनि बताए । अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षमा मूल्य अभिवृद्धिकर ६ प्रतिशतमा सीमित राख्ने पनि बताए ।
यस्तै, सरकारले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गरेको छ । हाल खाईपाई आएको पारिश्रमिकमा करिब २१ प्रतिशत खुद वृद्धि भई ग्रेडसहित न्यूनतम पारिश्रमिक रु ४० हजारदेखि रु एक लाखमाथि कायम हुनेगरी तलब वृद्धि गरेको हो । पछिल्लो चार वर्षदेखि राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि नभएको, यस अवधिमा उपभोक्ता मूल्य वृद्धि सचकाङ्कमा आधारित मूल्य वृद्धि १७.३ प्रतिशत भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनस्र्थापना गर्नुपर्ने महसुस गरी तलब वृद्धि गरेको मन्त्री वाग्लेको भनाइ छ ।