पथरीमा सृजना अनुष्ठान तथा स्रष्टा सम्मान कार्यक्रम

पथरीशनिश्चरे, १६ जेठ। मोरङको पथरी शनिश्चरेमा सृजना अनुष्ठान तथा स्रष्टा सम्मान कार्यक्रम सुरु भएको छ।आज पथरी शनिश्चरे नगरपालिकाको मनोहर पार्कमा आयोजित उक्त कार्यक्रममा स्थानीय सर्जक तथा विद्यालयका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सर्जकहरूको कृतिमाथि सिर्जना विमर्श समेत गरिएको थियो।

पथरी शनिश्चरे नगरपालिकाका नगर प्रवक्ता तथा वडाध्यक्ष नवीन जंग कार्कीले गणतन्त्र दिवसको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको बलिदानबाट प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न सदैव प्रेरणा मिलोस् भन्ने भावसहित शुभकामना कविता वाचन गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा स्थानीय सर्जकहरू कृष्ण प्रसाद अधिकारी, विद्रोही कान्छा उर्फ अशोक कुमार साम्पाङ्ग राई, सुमन राई, गणेश वाच्छना राई, राजेन्द्र विवश, ओमप्रकाश शर्मा ‘अभिन्न’, लक्ष्मी प्रसाद फूयाल, कमल तिमिल्सिना, रमेश ‘ओझेल’, मञ्जरी घिमिरे, विवेक कार्की, रविन भट्टराई ‘सायरी’, केशव ‘भारद्वाज’ निरौला लगायतले आफ्ना उत्कृष्ट रचना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कविता, गीत, गजल, मुक्तक लगायत साहित्यका विभिन्न विधाहरू प्रस्तुत गरिएको थियो। कला साहित्य प्रवर्धन समिति पथरी शनिश्चरेका अध्यक्ष धनराज राई अमिर को सभाध्यक्षमा सम्पन्न सोही कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल बुढाथोकीले कार्यक्रम सफलताको शुभकामना समेत राखेका थिए । पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा आयोजित उक्त कार्यक्रम कला साहित्य प्रवर्द्धन समिति, पथरी शनिश्चरेले आयोजना गरेको हो।

कार्यक्रममा प्रस्तुत साहित्यिक रचनामाथिको सिर्जना विमर्शमा लोकप्रिय कवि हेमन यात्रीले प्रमुख सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । स्थानीय सर्जक र विद्यालयका विद्यार्थीबीच सिर्जना विमर्श गरिएको सृजना अनुष्ठान तथा स्रष्टा सम्मान कार्यक्रम साहित्यिक वातावरणलाई थप सशक्त बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published.