झापा ,२० माघ । नेपाली कांग्रेस झापाले पार्टीका आमन्त्रित जिल्ला सदस्य विर्तामोड–१ निवासी बलराम कार्कीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।
नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति शेरबहादुर भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै कारबाही गरिएको उल्लेख छ ।
‘केही समय अघिदेखि पार्टीहित विपरित कार्य गर्दै आएकोमा पटक–पटक सच्चिन मौका प्रदान गर्दासमेत आचारणमा सुधार नगरी पार्टी हित विपरितका गतिविधिमा निरन्तर संलग्न हुँदै आएको पाइएकाले कांग्रेसको साधारण सदस्य समेत नरहने गरी आजकै मितिबाट निष्काशनको कारबाही गरिएको छ’–विज्ञप्तिमा भनिएको छ ।
कार्कीले पार्टीको तर्फबाट प्रतिनिधित्व गरेका सबै निकाय र संस्थाहरुबाट समेत प्रतिनिधित्व खारेज गरिएको विज्ञप्तिमा उल्लेख छ । साथै अब उप्रान्त उनले गरेका कुनै पनि गतिविधिको पार्टी जवाफदेही नहुने विज्ञप्तिमा स्पष्ट पारिएको छ ।
यसअघि विर्तामोड कांग्रेस नगर सभापति भोजराज सिटौलाले समेत उनलाई आज माघ २० गतेदेखि लागू हुने गरी साधारण सदस्यताबाट निलम्बन गरिएको उल्लेख गरेका छन् । पछिल्लो समय स्थानीय राजनीतिक गतिविधिमा उनको भूमिकालाई लिएर पार्टीभित्र असन्तुष्टि बढ्दै गएको बुझिएको छ ।
कांग्रेसले पार्टी अनुशासन सबै सदस्यका लागि अनिवार्य रहेको उल्लेख गर्दै भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन कडाइका साथ विधान कार्यान्वयन गरिने सभापति सिटौलाले बताए ।
कार्की र मैनाली रास्वपामा प्रवेश
बिर्तामोडका दुई युवा नेता बलराम कार्की र अर्जुन मैनाली राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका जिल्ला सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कार्कीले सामाजिक संजालमा आजका मितिदेखि नेपाली कांग्रेसको जिल्ला सदस्यसहित साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी दिएका छन् ।
त्यस्तै नेकपा एमालेका युवा नेता तथा बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान महासचिवसमेत रहेका अर्जुन मैनालीले पनि एमाले पार्टी परित्याग गर्दै रास्वपामा प्रवेश गरेका छन् । मैनालीले आज सामाजिक सञ्जालमार्फत रास्वपा नेता बालेन शाह तथा स्थानीय रास्वपा नेताहरूसँगको फोटो सार्वजनिक गर्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन्।