झापा–५ सम्बन्धी भ्रामक प्रचारको कांग्रेसद्वारा खण्डन

दमक ,२१ माघ । नेपाली कांग्रेसका नेताहरूले झापा–५ को निर्वाचनलाई लिएर फेसबुकलगायत सामाजिक सञ्जालमार्फत बाहिर आएका विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै झुठा, तथ्यहीन र अनर्गल प्रचारको कडा खण्डन गरेका छन् ।

कांग्रेस झापा–५ को चुनाव प्रचार–प्रसार अन्तर्गतको सूचना सञ्जाल समन्वय समितिको आयोजनामा बुधबार बिहान दमकमा आयोजित कार्यक्रममा नेताहरूले पत्रकारिताका सामान्य मूल्य–मान्यता, सिद्धान्त र निर्वाचन आचारसंहिता विपरीतका भ्रामक सूचना तथा समाचारले नागरिकको सही सूचना पाउने अधिकार हनन भएको जिकिर गरे ।
झापा–५ बाट कांग्रेसकी प्रत्यासी उम्मेदवार मन्धरा चिमरिया पौडेलको उपस्थितिमा भएको कार्यक्रममा विघटित संसदको सबैभन्दा ठूलो दल कांग्रेस रहेको र अघिल्लो निर्वाचनमा समेत झापा–५ मा कांग्रेसले निकटतम प्रतिस्पर्धीको हैसियत रहेको दावी काँग्रेसले गरेको छ । तर, केही सञ्चारमाध्यमले दल र उम्मेदवारको मर्यादाविपरीत सामग्री प्रस्तुत गर्दै चौथो, पाँचौँ दलका उम्मेदवारलाई प्राथमिकतामा राखेर निष्पक्ष पत्रकारितामाथि प्रश्न उठाएको नेताहरूको आरोप छ ।

कांग्रेस केन्द्रीय सदस्य सुरेश सुब्बाले सर्लाही र झापाका विषय जोडेर प्रविधिको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत फैलाइएका प्रचारमा कुनै सत्यता नरहेको बताए । यस्ता गतिविधिले सञ्चार जगतको विश्वसनीयतामै प्रश्नचिन्ह खडा गरेको उनको टिप्पणी थियो ।
कल्पनामा आधारित सूचना सामग्री स्वार्थपूर्तिका लागि सार्वजनिक गर्नु अघि जिम्मेवारी र कर्तव्यको ख्याल राख्नुपर्ने उनको सुझाव छ । तालमेल, गठबन्धनजस्ता विषयमा भ्रम फैलाएर कांग्रेसविरुद्ध नकारात्मक धारणा बनाउन भूमिका खेल्ने तत्वहरूको पहिचान भइसकेको र उनीहरूविरुद्ध कानुनी उपचार खोजिने चेतावनी पनि उनले दिए ।
कांग्रेस झापाका कार्यवाहक सभापति शेरबहादुर भट्टराईले झापा–५ का विषयमा देश–विदेशबाट गलत ढंगले भ्रम फैलाउने प्रयास भइरहेको भन्दै नागरिकलाई सचेत रहन आग्रह गरे । कांग्रेसभित्र उम्मेदवारीका विषयमा कुनै मतभेद नरहेको र पार्टी एकढिक्का भएर चुनावी अभियानमा होमिएको भन्दै उनले सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे ।

कांग्रेस झापा–५ का सभापति ढुण्डीराज भण्डारीले यसपटक झापा–५ मा गुमेको कांग्रेसको विरासत फिर्ता ल्याउने दृढ अठोटका साथ नेता–कार्यकर्ता चुनावी मैदानमा उत्रिएको बताए । सबै किसिमका भ्रामक र तथ्यहीन प्रचारको सिंगो कांग्रेसले प्रतिवाद गरिरहेको उनको भनाइ छ । विपक्षी दलहरू कांग्रेस निर्वाचन जितको नजिक पुगेको देखेर अत्तालिँदै सामाजिक सञ्जालको दुरुपयोग गर्ने र मतदाताको गोपनीयता भंग गर्ने गैरजिम्मेवार गतिविधिमा लागेको आरोप पनि उनले लगाए ।
नेताहरूले निष्पक्ष, स्वतन्त्र र जिम्मेवार पत्रकारिताबाट मात्रै लोकतन्त्रको रक्षा सम्भव हुने र लोकतन्त्रमा नागरिकको सर्वोच्चता कायम रहनेमा जोड दिएका
थिए ।

Leave a Reply

Your email address will not be published.