गौरीगञ्ज,२५ माघ । आत्महत्याको दुरुत्साहन गरेको अभियोगमा प्रहरीले झापाको गौरीगञ्ज गाउँपालिका ३ स्थित गौरीगञ्ज माध्यमिक विद्यालयका शिक्षक पवन कुमार दासलाई आज पक्राउ गरेको छ ।
दासलाई आज विहान आफनै निवासबाट अनुसन्धानका लागि नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ ।कक्षा ११ मा अध्ययनरत गौरीगञ्ज गाउँपालिका ३ कृपालटोली बस्ने १७ बर्षिया सोनी राजवंशीले हिजो मंगलवार साँझ करिब ५ बजे आफ्नै घरमा झुण्डिएर मृत अवस्थामा फेला परेकी थिईन् । मृतकको शव दमक अस्पतालमा राखिएको छ ।
आत्महत्या गर्नुपूर्व शिक्षक दासले सोनीलाई अफिस कोठामा लगेर दिउसो ३ .४५ बजे तिर गाला, तिघ्रा र शरीरको यत्रतत्र भागमा कुटपिट गरि मानसिक यातना दिएर आत्महत्या गर्न बाँध्य बनाएको जाहेरीमा अभियोग लगाईएको छ ।
मृतक सोनीका ठुलो बुबा दाह्रा सिंह राजवंशीले दिएको जाहेरीमा विद्यालयमा मृतकसंगैका अध्ययनरत सहपाठी र सोनीकै साथीहरूको बयानका आधारमा शिक्षक दास विरुद्ध कारवाहीका लागि प्रहरीमा जाहेरी दिनुभएको थियो । तर जाहेरी दिएपनि प्रहरीले पक्राउ नगरेको भन्दै पीडित ,आफन्त तथा विद्यार्थीहरुले दासका घर तोडफोड गर्नुका साथै दिनभरि नारावाजी गरेका थिए ।
पक्राउ परेका शिक्षक दासलाई भोली विहिवार जिल्ला अदालत झापाबाट म्याद थप गरि अनुसन्धान थालिने तयारी गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
शिक्षक दासविरुद्ध लागेको आत्महत्यामा दुरुत्साहन दिएको कसूर प्रमाणित भए ५ वर्षसम्म कैद र रु ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ ।