दमक,१० पुस । नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाले कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईसहित १० जना जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।उपशाखाको आइतवार सम्पन्न १० औ उपशाखा सभाका अवसरमा रेडक्रसका आजीवन सदस्य अध्यक्ष राईसहित १० जना जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।
यसरी सम्मानित हुनेमा कमल १ का वडाअध्यक्ष केदार कटुवाल,कमल ५ का वडाअध्यक्ष एलवी विष्ट, वडा न. ६ का वडाअध्यक्ष नरेन्द्र भट्टराई, कमल ७ का वडाअध्यक्ष पृथ्वीपति राई,वडा सदस्यहरु चन्द्रकला सुब्बा, ओम पराजुली , कल्पना राई र प्रदेश सभा सदस्य बन्दना झाँगर रहेका छन् ।
उनीहरुलाई पालिका अध्यक्ष राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी ,रेडक्रसका जिल्ला उपसभापति मित्रदेव काफ्ले लगायतले दोसल्ला तथा सम्मान पत्र प्रदान गरेका थिए ।
कमल ५ मंगलवारे स्थित रेडक्रसकै आफनै सभाहलमा आयोजित उपशाखा सभाको बन्दसत्रमा रेडक्रसका सचिव पारषमणि राईले सांगठानिक र कोषाध्यक्ष प्रमोदकुमार दाहालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन बन्दसत्रले सुझावसहित पारित गरिएको थियो ।
रेडक्रस कमल उपशाखाका सभापति चन्द्र साहको अध्यक्षतामा भएको उपशाखा सभामा पालिका अध्यक्ष राई ,उपाध्यक्ष न्यौपाने , कमल ६ का वडाअध्यक्ष नरेन्द्र भटटराई, सामाजिक व्यक्तित्व दिलीप राई लगायतले बोलेका थिए ।
उपशाखाको नयाँ नेतृत्व चयन गर्न रेडक्रस झापाका उपसभापति मित्रदेव काफ्लेको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिले पुस ११ गतेदेखि १४ गतेसम्म उम्मेदवार मनोनयनसहितका निर्वाचन कार्यक्रम शुरु गरेका छन् ।