झापा ,१० पुस । नेकपा एमालेले प्रदेश- १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्कीलाई सर्वसम्मत चयन गरेको छ । कार्की प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री पनि हुन् ।
झापा क्षेत्र नम्बर ५ (१ ) बाट निर्वाचित कार्कीलाई आइतवार बसेको एमाले दलको बैठकले सर्वसम्मत चयन गरेको हो । प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बोको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा उनी दलको नेता बनेका हुन् ।
यस्तै एमाले दलको बैठकले प्रदेश १ सरकार गठनका लागि दलका नेता कार्कीको नेतृत्वमा वार्ता समिति निर्माण गरेको छ । उक्त समितिले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने एमालेले जनाएको छ । समितिमा प्रदेश सांसदहरु तिलकुमार मेन्यङ्वो, रेवतीरमण भण्डारी, सिर्जना राई र लिलाबल्लभ अधिकारी रहेका छन् ।
दलको बैठकले सो समितिलाई सरकार गठनको विषयमा आवश्यक छलफल गर्ने कार्यादेश दिएको छ । सरकार गठन गर्नका लागि समितिमा आवश्यक छलफल पछि अन्य दलसँग वार्ता थाल्ने सांसद रेवतीरमण भण्डारीले बताए । प्रदेशससभामा नेकपा एमाले सबैभन्दा ठूलो दल हो ।
एमालेको ४० जना सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा काँग्रेसका २९, माओवादीका १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ सांसद छन् । सरकार गठनका लागि बहुमत सांसद अर्थात ४७ जनाको समर्थन आवश्यक छ ।