दमक,९ असोज । नेपाली कांग्रेस दमक नगर समितिको सभापतिमा युवराज खनाल (सागर) निर्वाचित भएका छन् । वर्तमान उपसभापति रहेका खनालले १६५ मतसहित कांग्रेस सभापतिमा निर्वाचित भएका हुन् । सभापतिमा उनीसहित तीन जना उम्मेदवार निर्वाचनमा प्रतिष्पर्धामा रहेका थिए ।
निर्वाचनमा राजेन्द्र सिटौलाले १३९ मत प्राप्त गरे भने प्रेम भट्टराईले ५९ मत प्राप्त गरेका थिए । विजेता खनाल कांग्रेस दमक नगर उपसभापति हुन भने सिटौला दमक ४ का निर्वतमान अध्यक्ष र भट्टराई कार्यवहाक सभापति हुन् । तीनै आकांक्षीवीच सहमति नजुटेपछि शुक्रवार मतदान भएको थियो ।
यस्तै कांग्रेस दमक नगर उपसभापतिमा ठाकुरहरी पोखरेलले २ सय ८ मत ल्याएर सहित विजयी हुदाँ उनका निकटतम प्रतिद्धन्दी नारायण धिमालले १ सय ३९ मत प्राप्त गरेका थिए ।
यसैगरी सचिव पदमा युवराज कोईराला निर्वाचित भए । उनले २ सय ३३ मत ल्याउँदा उनका प्रतिस्पर्धी लीला तिम्सिनाले १ सय ४२ मत पाएका थिए ।
यसैगरि, सह–सचिवमा भने निकै प्रतिस्पर्धात्मक परिणाम देखिएको छ । रविन्द्र दाहाल र धर्मराज ढुङ्गानावीच ५ मतको अन्तरले मात्रै दाहाल विजयी भए । १ सय ८४ मत ल्याएर दाहालले जीत निकाल्दा ढुङ्गेलले मत १ सय ७९ पाएका निर्वाचन समिति संयोजक टीकारम भण्डारीले जनाएका छन् । दमक–८ स्थित अर्गानिक कृषि भवनमा शुक्रवार भएको निर्वाचनमा कुल ३८७ मत खसेको थियो।