दमक,२८ साउन । घरनजिकै रहेको भालु खोलामा डुबेर दमकका ११ वर्षीय बालकको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा दमक -१० जहदा बस्ने इन्द्र प्रसाईका ११ वर्षीय धर्मेन्द्र प्रसाई रहेका छन् ।
उनीसंगै सोही ठाउँ बस्ने कृष्णप्रसाद ढकालको छोरा ११ वर्षकै भुपेन्द्र ढकाल घरदेखि अन्दाजी २०० मिटर उत्तरमा रहेको भालु खोलामा पौडी खेल्न गएका थिए । त्यसक्रममा धर्मेन्द्रलाई खोलाले बगाएको स्थानीयले बताएका छन् । बालकलाई बगाएको स्थानीयले देखेर ५ सय मिटर दक्षिणबाट उद्धार गरेका थिए । बालकलाई खोलाबाट निकाली उपचारका लागि निम्स अस्पताल दमक पठाएकोमा अस्पतालमा पुर्याउनसाथ डाक्टरले मृत घोषणा गरेका थिए । मृतक बालक स्थानीय सगरमाथा आधारभूत विद्यालय कक्षा ५ मा अध्ययनरत रहेको जनाइएको छ ।
शव तत्काल सोही अस्पतालमा रहेको र अन्य अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय दमकबाट टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।