काँकरभिट्टा, २२ साउन । प्रेस क्लब मेचीनगरको नयाँ नेतृत्व चयन भएको छ । काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको सभाहलमा शनिबार बेलुका सम्पन्न निर्वाचनबाट गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार भएका डम्बर बराल निर्वाचित भएका छन् । उनी प्रेस युनियनबाट निर्वाचित भएका हुन् ।
प्रेस चौतारी तर्फबाट अध्यक्षका उम्मेदवार शिशिर चम्लागाईलाई १ मतको अन्तरले हराउँदै बराल विजयी भएका हुन् । बरालले २४ मत र चम्लागाईले २३ मत प्राप्त गरेका थिए ।
क्लबको उपाध्यक्ष, सचिव र सहसचिवमा गठबन्धनका उम्मेद्वार निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट उपाध्यक्षमा प्रेस युनियनका जीआर धितालले २५ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धी प्रेस चौतारीका खगेन्द्र घिमिरेले २२ मत प्राप्त गरे ।
सचिवमा प्रेस युनियनकै देबु बानियाँ २८ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिस्पर्धी प्रेस चौतारीका हेमन्त निरौलाले १९ मत प्राप्त गरे । सहसचिवमा समेत गठबन्धनकै एकीकृत समाजवादी पार्टीको तर्फबाट दीलिप थापाले ३० मत ल्याई विजयी भए भने जनपत्रकार संगठनका तर्फबाट झापाका संयोजक प्रविण अधिकारीले १७ मत मात्र प्राप्त गरेका थिए । निर्वाचनमा कुल ५९ मतदाता मध्ये ४७ जनाले मतदान गरेका थिए ।
समावेशी उपाध्यक्षमा रीता दाहाल र कोषाध्यक्षमा विनिषा शर्मा , सदस्यहरुमा गठबन्धनको तर्फबाट होमराज राई, विश्वास दाहाल र सुजन प्रधान तथा प्रेस चौतारी नेपालका गगन ढकाल, विकास देवकोटा र नेहाल दर्जी सर्वसम्मत निर्वाचित भएका छन् ।
निर्वाचनमा प्रेस चौतारी एक्लै भिडेको थियो भने यता प्रेस युनियन, एकीकृत समाजवादी र प्रेस सेन्टरको गठबन्धन रहेको थियो । नयाँ नेतृत्व चयन गर्न सन्तोष आचार्य संयोजक तथा अम्बिका भण्डारी, ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल र विश्व थापा सदस्य रहेको पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
दुई पत्रकार नगदसहित पुरस्कृत
प्रेस क्लब मेचीनगरको वार्षिक अधिवेशन तथा पाँचौँ साधारण सभा उद्घाटनका अवसरमा दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
यसरी पुरस्कृत हुनेमा मेचीनगर प्रोत्साहन पत्रकारिता पुरस्कारबाट क्लबका पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला र मेचीनगर प्रोत्साहित पत्रकारिता पुरस्कारबाट उदयमान पत्रकार युवराज आचार्य रहेका छन् ।
निरौलालाई नगद ११ हजार १११ रुपैयाँ सहित ,प्रमाणपत्र पाए भने आचार्यले नगद ५ हजार ५५५ रुपैयाँसहित पाए । ती पुरस्कार मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले वितरण गरेका थिए ।