ताप्लेजुङ, २२ साउन । ताप्लेजुङमा द्धन्दको समयमा विस्थापित भएका पाँचजना शिक्षकको पुनर्बहाली भएको छ । १० वर्षे सशस्त्र जनयुद्ध (माओवादी द्धन्द )का कारण विस्थापित हुन पुगेका शिक्षकहरुलाई जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले पुनर्बहालीको पत्र दिएको हो ।
शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार द्धन्दको समयमा बिस्थापित हुँदा उहाँहरु रहेकै विद्यालयका लागि हालको गाउँपालिकालाई बोधार्थ दिएर शिक्षकलाई पुनर्बहालीको पत्र दिइएको छ । पुनर्बहाली हुनेमा एकजना माध्यमिक तह र चारजना प्राथमिक तहका शिक्षक रहेका इकाइ प्रमुख भट्टराईले बताए। उनकाअनुसार पुनर्बहाली हुनेमा नन्दकुमार भण्डारी (माध्यमिक तह ) लाई मिक्वाखोला गाउँपालिका अन्तर्गत पदस्थापनका लाागि सिफारिस गरिएको छ ।
यस्तै प्राथमिक तह (आधारभूत तह ) अन्तर्गत पदमबहादुर येङ्देनलाई मिक्वाखोला, कमलप्रसाद मैनाली आठराई त्रिबेणी गाउँपालिका, दीपक भण्डारी र जगतबहादुर दाहाललाई सिरिजङ्घा गाउँपालिकामा पदस्थापनका लागि पत्र दिएर पठाएको इकाइले जनाएको छ ।
सम्भव भएसम्म सिफारिस गरिएकै स्थानमा पदस्थापनका लागि सम्बन्धित गाउँपालिकालाई अनुरोध गरिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख भट्टराईले जानकारी दिए । सरकारले गत फागुनमा सशस्त्र द्धन्दका समयमा पेशाबाट बिस्थापित भएका स्थायी शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय गर्दै द्धन्दकै कारण सेवाबिहीन बनेका शिक्षकको नामावली प्रकाशित गरेको थियो ।