आदिवासी दिवसमा पाडाजुंगीमा रक्तदान ,६५ पिन्ट रगत संकलन

दमक,२२ साउन । ३२ औं विश्व आदिवासी दिवस २०२६ का अवसर पारेर शुक्रवार जिल्लाको कमल गाउँपालिका -५ पाडाजुंगीमा आयोजित रक्तदानमा ६५ पिन्ट रगत संकलन भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् कमल , किरात राई यायोक्खा कमलको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाईटी कमल पालिका शाखाको समन्वयमा भएको रक्तदानमा ११ महिलासहित ६५ जनाले रगतदान गरेका हुन् ।

रक्तदानमा कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई , आदिवासी जनजाति महासंघ कमलका अध्यक्ष बदी राई, किरात राई यायोक्खा १ नम्बर प्रदेश समितिका अध्यक्ष पारषमणि राई, सामाजिक अगुवा सन्त किरातीसहित उनका श्रीमती मुना राई , यायोक्खा कमलका पूर्व अध्यक्ष सन्तोष राई , कमल गाउँपालिकाका कर्मचारी सरोज खनाल, भिमराज राई, अजित राई लगायतले रगतदान गरेका यायोक्खा कमलका सचिव चन्द्रप्रकाश राईले जानकारी दिए ।

रक्तदानमा सहभागिहरुलाई पालिका अध्यक्ष हुकुमसिंह राई, यायोक्खा जिल्ला अध्यक्ष गणेश राई लगायतले प्रंशसापत्र वितरण गरेका थिए । रक्तदान नेपाल रेडक्रस सोसाईटी दमक शाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो । रक्तदान कार्यक्रमको संक्षिप्त उद्घाटनमा पालिका अध्यक्ष राईसहित कमल ३ का वडाअध्यक्ष अग्नीप्रसाद कोइराला लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रम किरात राई यायोक्खा कमलका अध्यक्ष हरिचन्द्र राईको अध्यक्षतामा भएको थियो ।

तीन दिने कार्यक्रम
महासंघले तीनदिवसीय कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम गरिएको हो भने शनिवार विहान कमल ५ सावित्री चौंक उत्तर समाधिस्थलमा वृक्षरोपण र २४ गते केर्खामा साँझ दिपप्रज्जवलन गरि विश्व आदिवासी दिवस मनाउने तय भएको अध्यक्ष बदी साङपाङ राईले जानकारी दिए । आगामी साउन २४ गते मुलुकभर विभिन्न कार्यक्रम गरेर ३२औं विश्व आदिवासी दिवस मनाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published.