कमल ,२१ साउन । झापाको कमल गाउँपालिकास्थित कमल नगर अस्पतालले अब साताको दुई दिन भिडियो एक्सरे सेवा सञ्चालन गर्ने भएको छ । साउन २५ गते सोमबारदेखि हप्ताको दुई दिन भिडियो एक्स–रे सेवा सञ्चालन भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक दाहालले जानकारी दिए ।
उनका अनुसार भिडियो एक्सरे मेची अस्पतालका रेडियोलोजिष्ट डा. कृष्णदेव यादवसंगको सहकार्यमा त्यस्तो सेवा विस्तार गर्न लागिएको र त्यस सम्बन्धी द्धिपक्षीय संझौता समेत गरिसकिएको उनले बतए ।
सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा सोमबार बसेको समितिको बैठकले कमलबासीहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै भिडियो एक्स–रे सेवा सञ्चालन गर्ने निर्णय गरेको शाखा प्रमुख दाहालले बताए । यसअघि पालिकाले घुम्ती कार्यक्रम गरि मासिक रुपमा ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिआएको थियो ।
भिडियो एक्स–रे सेवा सञ्चालनमा आएपछि विशेषगरी गर्भवती महिला, महिला स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामी तथा चिकित्सकको सिफारिसमा भिडियो एक्स–रे आवश्यक पर्ने अन्य बिरामीहरूलाई थप सहज हुने स्थानीय सरकारको विश्वास छ ।
यसअघि नै कमल नगर अस्पतालले मानसिक स्वास्थ्य विशेषज्ञसहितको सेवा, दन्त सेवा तथा आँखा सेवा विस्तार गरिसकेको छ । भिडियो एक्स–रे सेवासमेत थपिएसँगै अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवाको दायरा अझ फराकिलो हुने स्वास्थ्य शाखा प्रमुख दाहालले बताए ।
स्वास्थ्य बीमा कार्यक्रमसहितको सेवा सञ्चालनमा ल्याइएपछि यो अस्पतालमा बर्षेनी १२ देखि हजार बढी सर्वसाधारणले स्वास्थ्य सेवा लिँदै आएका छन् ।
यहाँबाट कमल गाउँपालिकाका अतिरिक्त छिमेकी पालिकाहरु गौरादह , गौरीगञ्ज र शिवसताक्षीका बासिन्दाले पनि सेवा लिँदै आएका छन् । अस्पतालमा नियमित रुपमा ओपिडी सेवा, फार्मेसी सेवा र ल्याब सेवा सञ्चालनमा छ । त्यस्तै यो अस्पतालले सुरक्षित प्रसुति सेवा पनि दिँदै आएको छ । गत आर्थिक बर्षमा यो अस्पतालमा १२ जनाले सुरक्षित प्रसुती सेवा लिएका छन् । यहाँ सुत्केरी गराउन आउने महिलालाई प्रोत्साहन स्वरुप सुत्केरी पोषण सामग्री दिइँदै आएको छ भने कमल गाउँपालिकाबाट जुनसुकै अस्पतालमा पनि सुत्केरी सेवाका लागि गाउँपालिकाले निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ ।