कांग्रेसले कप्तानगञ्ज घटनाबारे ज्ञापनपत्र बुझायो

इटहरी,२२ साउन । नेपाली कांग्रेस सुनसरीले सुनसरीको देवानगञ्ज गाउँपालिका वडा–३ कप्तानगञ्जमा भएको गोलीकाण्डको विषयलाई लिएर प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत् प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा गोलीकाण्डको निष्पक्ष छानबिन, घाइतेहरूको निःशुल्क उपचार, पीडित तथा प्रभावित नागरिकलाई क्षतिपूर्ति, गृहमन्त्रीले पीडित परिवारसँग गरेको सहमति पूर्ण रुपमा कार्यान्वयन तथा जिल्लामा शान्ति–सुरक्षा कायम गर्नुपर्नु सहितको पाँच बुँदे माग राखिएको छ ।
नेपाली कांग्रेस सुनसरीले राखेको मागहरू तीन दिनभित्र कार्यान्वयन गर्न सरकारलाई अल्टिमेटम दिएको छ । तोकिएको समयसीमाभित्र माग पूरा नभए चरणबद्ध शान्तिपूर्ण आन्दोलनमा उत्रिने चेतावनी पनि ज्ञापनपत्र मार्फत दिएको पार्टी सुनसरी सचिव वीरेन्द्र कुमार साहले जानकारी दिए ।
कांग्रेस जिल्ला कार्यसमिति सुनसरीको तर्फबाट प्रधानमन्त्री, नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवार, काठमाडौंलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय, सुनसरी मार्फत ज्ञापन–पत्र बुझाएको साहले उल्लेख गरे ।

ज्ञापन पत्रमा भनिएको छ, “साउन १० गते रातीको देवानगञ्ज गाउँपालिका वडा ३, कप्तानगञ्जको नयाँ हटियामा भएको गोली काण्डमा निर्दोष १० जना मानिसहरुमाथि विना कारण गोली चलाउनु पर्ने परिस्थिति नै नभएको अवस्थामा राज्यको प्रत्यक्ष उपस्थितिमा गोली प्रहार गरी ३ जना व्यक्तिहरु ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र मेहताको हत्या हुनुको साथै सोही घटनाको विषयलाई लिएर देशव्यापी रुपमा आन्दोलनको क्रममा सिराहा गोलबजारका गणेश यादवको समेत गोली प्रहारबाट मृत्यु भएकोमा मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली एवम् घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति, जिल्ला कार्यसमिति र देवानगंज गाउँपालिका कार्यसमितिको गम्भिर ध्यानाकर्षण भएको छ ।”

त्यसैगरी देशको विषम परिस्थितिमा धार्मिक, जातीय द्वन्द्व हुन नदिन र देशमा अमनचयन कायम राख्न एवम् लोकतन्त्रको रक्षा गर्ने नेपाली काँग्रेसको दायित्व रहेको प्रष्ट बुझेको भन्दै हिंसा नभडकियोस् भनेर आफ्नो दायित्व निर्वाह गरेको समेत उल्लेख गरेको छ ।
देशको विषम परिस्थितिमा गृहमन्त्री जस्तो जिम्मेवारी व्यक्तिको उपस्थिति र संलग्नतामा मृतकका परिवार र घाईतेसँग भएको सम्झौता आजसम्म कार्यान्वयन नभएको हुँदा नेपाली कांग्रेसको गम्भिर ध्यानाकर्षण भएको हुँदा पाँच वुदे मागहरु अविलम्व तीन दिन भित्र कार्यान्वयन गर्न अनुरोध गरेको छ । उक्त मागहरु कार्यान्वयन नभएमा नेपाली काँग्रेस सुनसरी चरणवद्ध शान्तिपूर्ण आन्दोलन गर्न वाँध्य हुने चेतावनी दिदै त्यसको सम्पूर्ण जिम्मेवार नेपाल सरकार हुने भनिएको छ ।

पार्टीका तर्फबाट जिल्ला सभापति केदार भण्डारी, सुनसरी क्षेत्र ४ का क्षेत्रिय सभापति ऐयुव अन्सारी, सुनसरी २ का क्षेत्रिय सभापति लिलामणी सुवेदी, महासमिति सदस्य गफार अन्सारी, सुनसरी २ का प्रदेश सभा सभापति श्यामलाल मेहता, प्रदेश प्रतिनिधि अजमल अख्तर आजाद, दुहवी नगर सभापति वेद नारायण गच्छदार र इनरुवा नगर सभापति राजन मेहताले ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published.