झापा,२१ साउन । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको ऐतिहासिक महत्व स्मरण गर्दै यसको भावना र मर्मको सम्मान गर्न सरकारसँग माग गरेको छ ।२५२ वर्ष पुगेको सन्दर्भमाउक्त सन्धिको
विक्रम संवत् १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा राज्यबीच भएको लालमोहर अर्थात् नुनपानी सन्धि भोलिदेखि २५२ वर्ष पुग्दै छ । सोहि दिनको सम्झनामा चुम्लुङको संघीय कार्यसमितिको समन्वयमा झापामा ज्ञापनपत्र बुझाइएको जिल्ला अध्यक्ष सेसेहाङ फियाकले जनाए ।
फियाकको नेतृत्वमा गएको टोलीले बुधबार झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । कार्यक्रममा विभिन्न सामाजिक संघसंस्था र राजनीतिक दलका प्रतिनिधिको पनि सहभागिता थियो।
चुम्लुङका अनुसार विक्रम संवत् १८२९ देखि १८३१ सम्म गोर्खाली सेना र लिम्बुवानका शासकबीच युद्ध चलेको थियो। माझ किरात र वल्लो किरात क्षेत्रमाथि नियन्त्रण कायम गरेपछि गोर्खाली सेना चैनपुर र विजयपुरबाट लिम्बुवानतर्फ अघि बढेको इतिहासमा उल्लेख छ। दुई वर्ष लामो युद्धपछि दुवै पक्षबीच साउन २२ गते लालमोहर सन्धि भएको थियो।
इतिहासअनुसार सन्धि अघि विजयपुरका प्रतिनिधिले तामाको भाँडोमा पानी र नुन मिसाएर गोर्खाली पक्षलाई त्यसबाट नुन झिक्न आग्रह गरेका थिए। नुन पानीमा घुलिसकेपछि छुट्याउन नसकिने उदाहरण दिँदै लिम्बुवान गोर्खा राज्यसँग निश्चित सर्तमा एकीकृत हुन तयार रहेको, तर आफ्नो पहिचान, परम्परा र अधिकार सुरक्षित रहनुपर्ने सन्देश दिएको उल्लेख छ ।
सन्धिका क्रममा लिम्बुवान पक्षले आफ्ना पुर्खादेखि चलिआएका भूमि, सामाजिक व्यवस्था र परम्परागत अधिकारमा हस्तक्षेप नगर्ने सर्त राखेको थियो। गोर्खाली पक्षले ती अधिकारको सम्मान गर्ने र उल्लंघन गरे राज्यको अहित हुने भन्दै नुनपानीको सपथ लिएको इतिहासमा उल्लेख रहेको चुम्लुङको भनाइ छ। लिम्बुवान पक्षले पनि सन्धिको पालना भइरहेसम्म गोर्खा राज्यविरुद्ध नजाने प्रतिबद्धता जनाएको थियो।
चुम्लुङले नुनपानी सन्धि केवल ऐतिहासिक दस्तावेज नभई लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीचको राजनीतिक सहमति र आपसी विश्वासको प्रतीक भएको उल्लेख गर्दै त्यसको मर्मको संरक्षण, अध्ययन र सम्मान गर्न राज्यको ध्यानाकर्षण गराएको छ ।