दमक,२६ असार । झापाका सबै स्थानीय तहका उपप्रमुख-उपाध्यक्षहरुबीच असल अभ्यास आदनप्रदान तथा जिल्लास्तरीय बैठक दमकमा सम्पन्न भएको छ ।दमक नगरपालिकाकी उपप्रमुख तथा उपप्रमुख-उपाध्यक्ष सञ्जाल झापाकी संयोजक रेगिना भट्टराई प्रसाइँको अध्यक्षता र नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा भएको सोमबार दमकमा सम्पन्न सो कार्यक्रममा झापा जिल्लाका अधिकांश गाउँ-नगरपालिकाका उपाध्यक्ष तथा उपप्रमुखहरुले आ–आफ्नो पालिकामा भइरहेका नमुना किसिमका काम र कार्यक्रमहरुबारे एकापसमा चर्चा परिचर्चा गरेका थिए ।
संवाद समूह झापाको सहजीकरणमा बनेको उपप्रमुख-उपाध्यक्ष सञ्जाल झापाको आयोजना र दमक नगरपालिकाको सहयोगमा भएको उक्त अन्तरकृयात्मक बैठकमा संयोजक भट्टराईले दमक नगरका केही महत्वपूर्ण कार्यक्रमहरुका बारेमा जानकारी गराएकी थिइन् । दमकबाट अरु पालिकाले पनि सिक्न सक्ने र दमकले अरु पालिकाहरुबाट पनि सिक्न सक्ने किसिमका अभ्यासहरुले कार्यसम्पादनमा सहयोग पुग्ने उनको भनाई थियो ।
उनले यस सञ्जालको अन्तरक्रियात्मक छलफलका माध्यमबाट उपप्रमुख तथा उपाध्यक्षहरुलाई आफ्नो अधिकार क्षेत्र र कर्तव्यका बिषयमा थप ज्ञान आर्जन भई स्थानीय सरकार सञ्चालनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
सो अवसरमा दमक नगरपालिकाका न्यायिक समिति सदस्य कमलकुमार श्रेष्ठले पालिकाका केही राम्रा कार्यक्रमहरुका बारेमा जानकारीमुलक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले सो पालिकामा भए गरेका गतिबिधिहरुबारे जानकारी गराउँदै पालिका अध्यक्षबाट कतिपय कार्यक्रमहरु सञ्चालनमा ढिलासुस्ती हुने गरेको गुनासो सुनाए ।
कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले गाउँपालिकामा सञ्चालन हुने सबै कार्यक्रमहरुको जस पालिका प्रमुख÷अध्यक्षहरुलाई जाने भएकाले कुनै पनि कार्यक्रमहरुको सफल कार्यन्वयनका लागि उनीहरुलाई बुझाउन सक्नुपर्ने जोड दिईन् । उनले आफ्नो पालिकामा सञ्चालित केही कार्यक्रमहरुका बारेमा जानकारी गराउँदै योजनाहरुको अनुगमन लगायतका कतिपय अधिकार क्षेत्रका उपयोगबारे आफ्नो धारणा राखिन् । चालू आर्थिक बर्षमा पालिकाले चालू र पुँजीगत खर्च सन्तोषजनक रुपमा गर्न सकेको तथ्याङक प्रस्तुत गर्दै उनले बाल मैत्री घोषणाका कारण कमल गाउँपालिकालाई लिजाको रिपोर्टमा अंक बढेको जानकारी दिईन् ।
गौरादह नगरपालिकाकी उपप्रमुख जलबर्षा राजवंशीले सो नगरपालिकामा महिला, बालबालिका तथा आदिवासी समुदायको उत्थानमा केन्द्रित कार्यक्रमहरुका बारेमा जानकारी गराएकी थिइन् । उनले गौरादह नगरमा आदिवासीहरुको साँस्कृतिक संग्राहालय निर्माणको नयाँ योजना ल्याइएको जानकारी दिईन् ।
गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवरले कोशी प्रदेशमानै महिला अध्यक्ष र उपाध्यक्ष पाएको त्यस गाउँपालिकाले महिला तथा बालबालिका लक्षित धेरै कार्यक्रमहरु ल्याएको बताईन् । उनले यो बर्ष गाउँपालिकाका सबै माविमा स्काउट सञ्चालनमा आएको र आगामी बर्षदेखि आधारभुत तहका बिद्यालयमा पनि यो कार्यक्रम शुरु गरिन लागेको उल्लेख गरिन् । उपाध्यक्षसँग युवा उद्यमी व्यवसायी विशेष कार्यक्रम ल्याइएको पनि उल्लेख गदै उनले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालनमा आएपछि यस कार्यक्रम प्रभावकारीता हुदै गएको जानकारी दिईन् ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले विगतका दिनमा शुरु शुरुमा अधिकार, क्षेत्रका बिषयलाई लिएर प्रमुख-उपप्रमुखबीचको असमझदारी र विवादको बिषय बाहिर आउँदा जनमानसमा जनप्रतिनिधिहरुप्रतिनै नकारात्मक असर पर्ने सम्भावना धेरै देखिएकाले यसलाई न्यूनीकरण गरिएको आशय राखिन् । पालिका भित्र अनुगमन, न्यायिक समिति लगायतका काम कार्यक्रमहरुमा बजेटको खासै अभाव महसुस गर्न नपरेको उनले बताईन् ।
भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले नगर प्रमुखले उपप्रमुख सम्बद्ध कार्यक्रम राख्न खोजिँदा र कोही सहायता सहयोग लिन आउँदा सिफारिस गरि पठाएको अवस्थामा नगर प्रमुखले सहायता रकम घटाएर दिने, बजेट सकिएको छ भन्दिने लगायतका समस्या रहेको सुनाईन् ।
सो अवसरमा बुद्धशान्ति, विर्तामोड, बाह्रदशी , मेचीनगर, हल्दिबारी, झापा गाउँपालिका लगायतका पालिकाका पनि उपप्रमुख-उपाध्यक्षहरुले आआफ्ना अनुभवहरु राखेका थिए ।
यसैवीच बैठकले उपप्रमुख÷उपाध्यक्ष सञ्जाल झापाको संयोजकमा गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने सर्वसम्मत चयन भईन् । सञ्जाललाई सक्रिय बनाउन उनीहरुले आलोपालो नेतृत्व चयन गरिआएको छ ।
बैठकले भदौ अन्तिम साता अर्को बैठक बस्ने, हरेक पालिकामा उपाध्यक्ष – उपप्रमुखहरुलाई पर्ने समस्याहरुको निराकरणका लागि एकताबद्ध भएर समाधान खोज्ने, यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने लगायतका निर्णय भएको सञ्जालकी अध्यक्ष न्यौपानेले जानकारी दिईन् ।