धरान,३१ असोज । ट्रकको ठक्करबाट धरानमा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका–९ बेलहराका ३६ वर्षीय दीपेन्द्रराज राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार धरान उपमहानगरपालिका–८ भोटेपुलस्थित कोशी लोकमार्गमा शुक्रवार दिउँसो धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५९ प ३०९३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको प्रदेश १–०२–००२ ख ०९५९ नम्बरको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनापछि ट्रक चालक भोजपुरको षडानन्द नगरपालिका–१३ बोयाका ३५ वर्षीय नानीकाजी श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।