प्रदेशस्तरीय महिला फुटबलमा झापा च्याम्पियन

दमक,२६ असार । कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले चुमेको छ । मंगलवार भएको फाइनल खेलमा भोजपुरको महिला टिमलाई पराजित गर्दै झापा च्याम्पियन बनेको हो ।
प्रतिस्पर्धात्मक खेलमा झापाले १–० गोलअन्तरले भोजपुरलाई फाइनलमा रोक्दै उपाधिमाथि कब्जा जमाएको हो । जसमा झापाकी जेनिफर मगरले दोस्रो हाफको १५औँ मिनेटमा निर्णायक गोल गरेकी थिइन् ।
फाइनल खेलको वुमन अफ दि म्याच झापाकी कप्तान खुस्मा राई घोषित भइन् । उनले नगद २ हजार प्राप्त गरिन् ।
बेस्ट गोलकिपर झापाकै जसोदा लिम्बू भइन् भने बेस्ट डिफेन्डर भोजपुरकी कमला श्रेष्ठ भइन् । यसैगरी, सर्वाधिक गोलकर्ता झापाकी जेनिफर मगर भइन् । उनले ९ गोल गरेकी थिइन् ।
झापाकी सिमरन राई बेस्ट मिडफिल्डर भइन् । यस्तै, भोजपुरकी कप्तान आरती भुजेल बेस्ट फरवार्ड भइन् । प्रतियोगिताको बेस्ट कोच झापाका सन्त रायामाझी बनेका छन् भने राइजिङ प्लेयर खोटाङकी गोलरक्षक रिया राई घोषित भइन् ।

Leave a Reply

Your email address will not be published.