सहकारीको ऋण तिर्नुपर्दैन’ भन्दै उकास्ने ताजपुरियाविरुद्ध प्रहरीमा उजुरी

दमक ,१६ जेठ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले ऋण तिर्नु पर्दैन भन्दै ऋणी सदस्यलाई उकास्ने र कर्मचारीलाई धम्क्याउने कमल गाउँपालिका वडा नं. ५ का भक्तिराम ताजपुरियाविरुद्ध प्रहरीमा उजुरी दिदै कानूनी कार्वाहीको माग गरेको छ ।
एनएमसीले इलाका प्रहरी कार्यालय दमकमा दुई दिन अघि ज्ञापन पत्र मार्फत यस्तो उजुरी दिएको हो ।
ताजपुरिया राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालमा आवद्ध रहेको बताइएको छ । महाअभियानको नाममा ताजपुरियाको नेतृत्वमा आएको समूहले एनएमसीको दमक सेवा केन्द्रमा पुगी कर्मचारीलाई धम्क्याउने कार्य गरेको एनएमसीले जनाएको छ ।
इप्रकामा ज्ञापन पत्र बुझाउन एनएमसीका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीको नेतृत्वमा संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती लगायत स्थानीय समिति पदाधिकारी तथा कर्मचारीको संयुक्त टोली गएको थियो ।
कतिपय सदस्यलाई कर्जा बुझाउन समस्या समेत परेको हुनाले बुझाउनु पर्ने हर्जानामा ५० प्रतिशतसम्म र ब्याजमा २५ प्रतिशतसम्म छुटको सुविधा समेत संस्थाले प्रदान गरेको जनाउँदै एनएमसीका अध्यक्ष शिवाकोटीले सदस्यको हितमा प्रचलित कानून बमोजिम कार्य गरिरहेको संस्थाको गतिविधिमा अवरोध सिर्जना गर्ने कुनै पनि धाकधम्कीपूर्ण कार्य रोक्न प्रशासनसँग आग्रह गरे ।
एनएमसीमा हाल १ लाख ६५ हजारभन्दा बढी सदस्य आबद्ध रहेका छन् । संस्थाको कार्यक्षेत्र झापा, मोरङ र इलाम जिल्ला रहेको छ ।
संस्थाले हाल बचत तथा ऋण व्यवसाय, डेरी उद्योग, एग्रो फार्म, सहकारी पसल मार्ट र चिया उद्योग लगायतका व्यवसाय सञ्चालन गरिरहेको छ ।
संस्थामा प्रत्यक्ष रोजगारीमा ११४७ जना कर्मचारी कार्यरत रहेका छन् ।

Leave a Reply

Your email address will not be published.