दमक,२६ असोज । छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर आइतवार पाँच वर्षीया बालिका र ७३ वर्षीय वृद्धको मृत्यु भएको छ । कमल गाउँपालिकामा सिटी सफारीबाट लडेर चक्काले किच्दा बालिकाको मृत्यु भएको हो भने दमकमा सुमोको ठक्करबाट वृद्धको ज्यान गएको हो। कमल गाउँपालिका–५ टुकुरेमा आफ्नै बुवा डम्बर लिम्बूले चलाएको सिटी सफारीबाट लडेर चक्काले किच्दा पाँच वर्षीया लोजिना लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दमकबाट पेल्टिमारीतर्फ जाँदै गर्दा आइतबार साँझ करिब ५ः३० बजे सफारीबाट लडेकी बालिकालाई उपचारका लागि आम्दा अस्पताल पु¥याइएको थियो। तर, चिकित्सकले साँझ ६ बजे उनलाई मृत घोषणा गरेका थिए ।
त्यस्तै, दमक नगरपालिका–९ बुद्धचोकमा सुमोको ठक्करबाट पैदलयात्री ७३ वर्षीय माधवप्रसाद भट्टराईको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १–०१–०२५ च ४२०९ नम्बरको सुमोले ठक्कर दिँदा घाइते भएका भट्टराईको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा राति १०ः४० बजे मृत्यु भएको हो।
दुर्घटनामा संलग्न सुमो र चालक मोरङको उर्लाबारी नगरपालिका–९ का ३९ वर्षीय विष्णु न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार चालकसँग सवारी चालक अनुमतिपत्र फेला परेको छैन भने तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी छ।
दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।