शुभसाइत सहकारीका उपाध्यक्षसहित तीनजना पक्राउ

भद्रपुर,१४ चैत । बचतकर्ताको लाखौँ रकम हिनामिना गरेको आरोपमा झापा, भद्रपुरस्थित शुभसाइत बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षसहित तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा भद्रपुर–८ निवासी सहकारीका उपाध्यक्ष सञ्जोक गिरी, संस्थाकी सचिव हल्दिबारी–३ निवासी कञ्चन आचार्य र सदस्य भद्रपुर–७ निवासी दीपक खवास रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए । फरार रहेका उनीहरूलाई मंगलबार पक्राउ गरिएको हो ।
कोशी प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इटहरीको पत्रअनुसार झापा जिल्ला अदालतको अनुमतिमा जिल्ला प्रहरी कार्यालय झापाले फागुन ३० गते सञ्चालक समितिविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही दिनदेखि उनीहरू फरार थिए । संस्थाका अध्यक्ष भद्रपुर–६ निवासी राजु भन्ने मदन श्रेष्ठ अझै फरार रहेको प्रहरी निरीक्षक गिरीले बताए ।
पक्राउ परेका उनीहरूमाथि झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर आवश्यक अनुसन्धान सुरु गरिएको उनको भनाई छ । सहकारीका पीडित शेयर धनी तथा बचतकर्ताहरूको सङ्घर्ष समितिले फागुन १४ गते प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इटहरीमा रकम हिनामिना गरेको भन्दै सञ्चालक समितिविरुद्ध उजुरी दिएका थिए । रजिस्ट्रार कार्यालयले सोही उजुरी बमोजिम अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउनु भन्दै प्रहरी कार्यालय झापालाई पत्राचार गरेको थियो।
सोही पत्राचार अनुसार प्रहरीले सहकारी शेयर सदस्यहरूले जम्मा गरेको शेयर पुजी र बचत रकम समिति वा सदस्य व्यवस्थापक वा कर्मचारीले हिनामिना एवं अपचलन गरेको मुद्दा दर्ता गराई कारबाही प्रक्रिया अघि बढाएको हो ।
२०७७ सालमा स्थापना भएको शुभसाइत सहकारीमा हाल करिब दुई हजार सदस्य आबद्ध छन् । कूल ३० लाख शेयर पुँजी रहेको सहकारीले करिब २ करोड रुपैयाँ बचत फिर्ता गर्नुपर्ने जनाइएको छ । भद्रपुर–१० प्रधान कार्यालयको ठेगाना रहे पनि भद्रपुर–६ मा शुभसाइतले कार्यालय स्थापना गरी कारोबार गर्दै आइरहेको थियो। हाल सहकारीको कार्यालय बन्द छ ।

Leave a Reply

Your email address will not be published.