पथरीशनिश्चरे र उर्लाबारी जोडने सुनझोडा नदीमा ट्रस पुल निर्माण

पथरी , ७ चैत । मोरङको पथरी शनिश्चरे वडा नम्वर -२ बाट उर्लाबारी -३ नयाँ मंगलबारे बजार जोड्ने ट्रस पुल निर्माण गरिएको छ।पथरी शनिश्चरे र उर्लाबारी नगरपालिकाद्वारा संयुक्त रूपमा स्थापित नयाँ मंगलबारे हाट बजारमा कृषि तथा व्यापारिक प्रवर्धनका लागि सो पुल निर्माण भएको हो।
वर्षौं देखि हरेक साताको मंगलबार हाट लाग्दै आएको उक्त बजार आवातजावत गर्न असहज बनेपछि बजारकै छेउमा रहेको सुनझोडा नदिमाथि सो पुल निर्माण गरिएको बताईएको छ ।
यो पुल बनेसँगै उर्लाबारी र पथरी शनिश्चरे नगरका ३ हजार बढि स्थानीय सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने भएका छन्।
यता,पथरी शनिश्चरे वडा नम्वर २,३,४,५,६,७ का कृषक,पशुपालक तथा व्यापारीहरूले उत्पादन गरेका विभिन्न कृषिजन्य वस्तुहरुको खरीद तथा बिक्री गर्न सजिलो भएको छ। कृषिजन्य उपज तथा पशुचौपाया खरीद बिक्रीका लागि पनि सुविधा भएको छ।
संघीय सरकारको झुलुङ्गे पुल आयोजना अन्तर्गत संघीय, प्रदेश, स्थानीय गरी तीनै तहका सरकारहरू र जनश्रमदान सहित कूल ६९ लाख ५१ हजार ५ सय रुपैयाँको लागतमा सो पुल निर्माण भएको हो। ४८ मिटर लम्बाई र १५० सेमी चौडाई भएको सो पुल निर्माण गरिएको छ । साईकल, बाईक , टेम्पो सफारी, आदिलाई सहज यातायात सेवा उपलब्ध हुने वडाध्यक्ष नैना साम्पाङ राईले बताए।
छिमेकी उर्लाबारी नगरपालिकाको व्यापार प्रर्वद्धनमा पनि मनग्ये टेवा पुर्याउने सो बजारलाई जोड्ने उद्देश्यले पथरीशनिश्चरे नगरपालिकाले सो पुल निर्माणका लागि एकतर्फी पहल गरेको थियो ।
उक्त पुल निर्माणका निम्ति संघीय सरकारले ४३ लाख ३८ हजार ९२१ रूपैयाँ बजेट विनियोजन गरेको थियो भने पथरीशनिश्चरेले ४ लाख १७ हजार रुपैयाँ खर्चेको छ । त्यस्तै , कोशी प्रदेश सरकारले २० लाख ५६ हजार ४५९ रूपैयाँ बराबरको जिन्सी सामानहरु उपलब्ध गराएको थियो। यता , उपभोक्ताले १ लाख ३९ हजारको जनश्रमदान बेहोरेका थिए।
यसैबिच, पथरी शनिश्चरे नगरकी उप–प्रमुख तथा अुनगमन समितिकी संयोजक देविमाया काफ्लेको अगुवाईमा सोमबार सो पुलसहित अन्य योजना तथा कार्यक्रमहरूको अनुगमन गरिएको छ ।
अनुगमनमा नगरका योजना शाखा प्रमुख शिवकुमार राई, अनुगमन समितिका सदस्य वीरबहादुर राई, अन्जना दर्जी, इन्जिनियर सन्तोष केसी र प्राविधिकहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी , वडा नं १० को कवर्ड हल निर्माण तथा स्तरोन्नति, पिपल डाँडा स्कुल दक्षित बाटो ग्राभेल अनुगमन गरिएको थियो। सो पुलको निर्माणकार्य सम्पन्न भैसके पनि औपचारिक उद्घाटन भने हुन बाँकी रहेको छ।

Leave a Reply

Your email address will not be published.