नर्सको हत्या आरोपी युवक दाश मृत भेटिए

झापा, चैत ५ । विराटनगरमा भएको स्टाफ नर्सको हत्याका आरोपी युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।सिरहाको फुल्काहकट्टी घर भएका २३ वर्षीय शिवशंकर दास विराटनगर महानगरपालिका–४ स्थित फाइन होटल एन्ड लजको पंखामा प्लाष्टिकको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार शिवशंकरलाई होटलको १०२ नम्बर कोठाभित्र आइतबार राति ९ः४५ बजेतिर मृत फेला पारिएको हो। कोठाको चुक्कुल भित्रबाट लगाएर झुन्डिएको अवस्थामा शिवशंकर भेटिएका हुन्। उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।शिवशंकरले आइतबार बिहान ११ बजेतिर होटलको कोठा बुक गरेको देखिन्छ ।
विराटनगर–४ स्थित नोबेल शिक्षण अस्पतालको हाडजोर्नी विभागमा कार्यरत स्टाफ नर्स २२ वर्षीय चन्द्रिकाकुमारी दासको हत्या भएको अवस्थामा गत शुक्रबार शव फेला परेको थियो। सिरहाको फुल्काहकट्टी घर भएकी दास अस्पतालनजिक विराटनगर–४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् । डेरा बसेको घरको कोठाभित्रको शौचालयमा शव फेला परेको हो।
चन्द्रिकाको हत्या गरेको खुलेपछि प्रहरीले फरार रहेका शिवशंकरको खोजी गरिरहेको थियो। प्रहरीले खोजी जारी राखेका बेला उनी मृत फेला परेका हुन्। प्रहरीका अनुसार शिवशंकर र चन्द्रिका लगभग ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । प्रेममा उत्पन्न खटपट एवं सम्बन्धमा देखिएको दरार हत्याको कारण रहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.