झापा, २० फागुन । निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै आज बुधबार राति १२ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । राति १२ बजेदेखि बिहीबार मतदान कार्य सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन चलाउन नपाइने भएको हो।
निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले मतदान अवधिभर सवारी आवागमन नियन्त्रण गर्ने निर्णय गरेको हो। सोही निर्णयअनुसार मतदान कार्य सम्पन्न नहुन्जेलसम्म अथवा बिहीबार साँझ ५ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको आयोगले जनाएको छ ।
अत्यावश्यक सेवाअन्तर्गत एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चारका सवारीसाधन, खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी सवारीसाधन सञ्चालन गर्न पाइनेछ। साथै, कूटनीतिक नियोगका नीलो नम्बर प्लेट भएका सवारीसाधन तथा निर्वाचन आयोग र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पासप्राप्त सवारीसाधनलाई पनि सञ्चालन अनुमति दिइनेछ।
आयोगले निर्वाचन अवधिमा सवारी प्रयोगका क्रममा कुनै अवरोध वा समस्या उत्पन्न भएमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गरेको छ । आवश्यक परे सुरक्षा निकायले निर्वाचन आयोगसँग समन्वय गरी सहजीकरण गर्ने व्यवस्था मिलाइने जनाएको छ ।