बिर्तामोड–चन्द्रगढी चारलेन सडकको काम १२ प्रतिशत

बिर्तामोड १३ माघ। निर्माणाधिन बिर्तामोडदेखि चन्द्रगढीसम्मको चारलेन सडकको काम १२ प्रतिशत मात्र सम्पन्न भएको छ । ८.४१ किलोमिटर सडक चारआलीबाट चन्द्रगढीमा जोडिएको ठाउँम्म निर्माण हुने सडक डिभिजन कार्यालय दमकले जनाएको छ । सडक डिभिजन कार्यालय दमकका अनुसार कामको गति अनुसार समयमै सकिने विश्वास गरिएको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सबै जिल्लाका सदरमुकाम चारलेन सडकले जोड्ने योजना ल्याएका थिए । सोही सरकारले अघि सारेको योजना अनुरुप बिर्तामोड–चन्द्रगढी सडक निर्माणको काम भइरहेको छ । ओली सरकारले पूर्वपश्चिम राजमार्गदेखि सदरमुकामसम्म चार लेनको सडक निर्माण गर्ने योजनाअघि सारेको थियो । बिर्तामोडको मुक्ति चोकदेखि गरामनी नजिकैसम्म चारलेनको सडक यसअघि नै निर्माण भइसकेको छ । त्यहाँदेखि बाँकी रहेको काम काठमाडौंस्थित निर्माण कम्पनी कन्टेक प्रालिले गरिरहेको छ ।

चारलेनको कालोपत्रे सडक निर्माणका लागि नेपाल सरकारसँग निर्माण कम्पनीले ५८ करोड २ लाखमा सम्झौता गरेको छ । २०८० भदौ ४ गते निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको सडक डिभिजन कार्यालय दमकका प्रमुख रमेश प्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार देउनिया पुल बाहेकका काम निर्माण व्यवसायीले गर्नेछ । उनले सडकको दुवै भागमा पर्खाल लगाउने, कल्भर्टहरु निर्माण गर्ने काम चलिरहेको जानकारी दिए । स्लाव र हेमपाइप सहितका कल्भर्ट निर्माण गर्नुपर्ने सो सडकमा अहिलेकै सम्झौताले देउनियाँ पुल नबन्ने बताए ।

पौडेलले लकडाउनका कारण ढिलो निर्माण शुरु भएको सडक निर्माण व्यवसायीले चाहेमा समयमै सकिने बताएका छन् । अहिले माटोको अभाव छ, पौडलले भने – सबै अनुकुल भएमा सम्झौताभित्र सकिने निश्चित छ । उनका अनुसार आगामी असार मसान्तसम्मको कामले बाँकी अनुमान गर्न सकिने छ ।

सडक निर्माणको क्रममा चन्द्रगढी क्षेत्रका केहि घर भत्काउनु पर्ने डिभिजन प्रमुख पौडलले जानकारी दिएका छन् । पौडेलले भने – ‘अहिले लगत संकलनकोे काम भइरहेको छ । कति घर भत्काउनु पर्ने हो अहिले भन्न सकिदैन । लगत आइसकेपछि मात्रै त्यसबारे बोल्न सकिन्छ ।’

Leave a Reply

Your email address will not be published.