दमक,२२ पुस । माघे सक्रान्तिका अवसरमा झापामा बर्षेनी लाग्दैआएको माई मेलाको तयारी सुरु भएको छ ।पुस २८ देखि सुरु हुने माईमेला पाँच दिनसम्म सञ्चालन हुने मेलाको तयारी धमाधम भईरहेको आयोजक समितिले जनाएको छ । झापाको पवित्र तिर्थस्थल कन्काई नदीको दुवै किनारमा वषौंदेखि मेला लाग्दै आएको छ । यहाँ माघ १ अर्थात माघे सग्राँतीका दिन मकर स्नान गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ ।
माई मेलामा आएर मकर नुहाई पूजा, आराधना गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । कन्काई नदीलाई भगवती माईदेवीका रुपमा मान्ने गरिएको छ ।नेपाल लगायत छिमेकी मलुक भारतबाट समेत मकर स्नानका लागि आउनेहरुको संख्या उल्लेख्य हुने गरेको छ ।
यसअघिको माई मेला कोभिड–१९ को महामारीका कारण प्रभावित भएको थियो । कोरोना नियन्त्रणमा केहि भएसंगै यसवर्ष भने माईमेलामा तीर्थयात्रीको भिड लाग्ने अनुमान गरिएको छ ।
यो वर्षपनि माई मेलामा रोटेपिङ, विभिन्न खेल तमासा, ब्रेकडान्स, बटर फ्लाई, कोलम्बस, विभिन्न जातजातिका झाँकी, कला साहित्यका विविधि कार्यक्रम आयोजना हुने स्थानीय लक्ष्मण अधिकारीले बताए । माई मेलामा यो वर्ष करिव २ लाख सर्वसाधरण तीर्थ यात्री मकर स्नान गर्न आउँन सक्ने उनको अनुमान छ । मेलाका कारण कनकाई नदीको पुलमा भिड नियन्त्रणका लागि नदीस्थलमा दुवैतर्फ आउजाउ गर्न काठको पुल निर्माण गरिएको छ ।
मेलामा कुनै पनि अप्रिय घटना हुन नदिन स्थानीय स्वयसेवक, नेपाल प्रहरी, शसस्त्र प्रहरीले सुरक्षा प्रदान गर्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।